गोरखा पालुङटार कांग्रेसका ५२ उम्मेदवारले दिए सामुहिक राजीनामा


१९ बैशाख २०७९, सोमबार
congress flag 3joqJPnluA

गोरखा । गोरखा पालुङटार नगरपालिकामा कांग्रेसका तर्फबाट उम्मेदवार भएका ५२ जनाले सामुहिक राजीनामा दिएका छन् ।

नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, महिला वडा सदस्य, दलित वडा सदस्य र दुई खुला वडा सदस्य गरी १० वटै वडाबाट उनीहरुले उमेदवारी दर्ता गराएका थिए । केन्द्रले गोरखामा जनता समाजवादी पार्टीलाई नेतृत्व दिने गरी परिपत्र गरेर उम्मेदवारी फिर्ता गराएपछि सबै उम्मेदवारले सामुहिक राजीनामा दिएका हुन् ।

सभापति शेरबहादुर देउवालाई जसपा संघीय परिषद अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दबाब दिएका कारण देउवाको दबाबमा उम्मेदवार फिर्ता गराइएको थियो । मेयरको उम्मेदवार रहेका दीपकबाबु कँडेलले केन्द्रको निर्देशन मान्दै उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । त्यसपछि उक्त नगरमा कांग्रेसका उम्मेदवार रहेका सबैले उम्मेदवारी फिर्ता गरेका हुन् ।

‘निर्वाचन अधिकृतको कार्यालय पालुङटारले २०७९ वैशाख १६ गते दिनको ठिक ६ बजे प्रकाशन गरेको उमेदवारहरुको अन्तिम नामावलीमा नेपाली कांग्रेसको तर्फबाट उमेदवारी दिएका ५२ जनाकै नाम संलग्न रहेको जानकारी समेत गराउन चाहन्छौं’, सामुहिक राजीनामामा भनिएको छ, ‘विभिन्न सञ्चारमाध्यकमा आएका समाचारअनुसार जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइको दबाबकै कारण नेपाली कांग्रेस पालुङटारले आफ्नो नगर प्रमुख पदको उम्मेदवारी फिर्ता गर्न लगाउन खोज्नु आपत्तिजनक छ । यसको घोर भ्रत्सर्ना गर्दछ । यदि नगर प्रमुख पदको उम्मेदवारी फिर्ता गरि अन्य कुनै पार्टीको उम्मेदवारलाई समर्थन गर्नुपरेमा नेपाली कांग्रेस पालुङटार नगरपालिकाको सबै ५२ जना उम्मेदवारहरुकै सामुहिक रुपमा राजीनामा दिने निणर्य गर्दछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७