पूर्वमन्त्री खड्काकाे अखण्ड पार्टी नेपाल काँग्रेसमा समाहित


प्रकाशित मिति : October 15, 2017

काठमाडौँ: अखण्ड पार्टी नेपाल नेपाली काँग्रेसमा समाहित भएको छ । पार्टी एकीककरण गर्न आइतबार आयोजित कार्यक्रममा काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका अध्यक्ष पूर्वमन्त्री कुमार खड्कालगायतका नेतालाई अबिर र फूलमालासहित स्वागत गरे ।

कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि लोकतन्त्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिए । लोकतन्त्रवादी शक्ति एक नभए अहिलेसम्मका उपलब्धि गुमेर अधिनायकवादी शक्ति हाबी हुन सक्ने उनको भनाइ थियो ।

पार्टी काँग्रेसमा समाहित भएपछि कुरा गर्दे नेता खड्काले लोकतन्त्रको सुदृढीकरणका लागि पार्टी एक भएको बताए । कात्तिक ५ गतेपछि पोखरामा बृहत् एकीकरण सभा गरिने जानकारी पनि उनले दिए ।अखण्ड पार्टीलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय नेताले स्वागत गरे ।

दोस्रो संविधान सभा निर्वाचनपछि समानुपातिक सांसद निर्वाचित हुनुभएका खड्काले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको कार्यभारसमेत सम्हाली सकेको छ ।

पार्टीका नेता कार्यकर्तालाई काँग्रेसमा सम्मानजक स्थान दिने विषयमा आइतबार काँग्रेस सभापति देउवासँग सहमति भएको नेता खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्