यसरी मनाइयो इदुल फित्र (फोटो फिचर)


२० बैशाख २०७९, मंगलवार
Ramjan 8

काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज (मंगलबार) देशभरका मुस्लिम समुदायले नमाज पाठ गर्नाका साथै ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् ।

दशौं महिनाको पहिलो दिन नमाज पाठ सकेपछि तीन दिनसम्म आफ्ना मान्यजनबाट आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशिर्वाद दिने र आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । घरभन्दा टाढा-टाढा भई फर्कन नभ्याउनेले पनि मान्यजनबाट आशिर्वाद लिन्छन् ।

खुशीपूर्वक दान गरेर दीनदुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने भए पनि यस वर्ष उक्त दिन आइतबार बेलुकी चन्द्रमा नदेखिएकाले आज यो पर्व मनाइएको हो ।

अरबी पात्रो अनुसार कुनै पनि महिना ३१ दिनको नहुने भएकाले सोमबार बेलुकी अर्थात् ३०औं दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १०औं महिना मानिन्छ । यसैकारण आज इद उल फित्र पर्व मनाइएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । यो पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखी र गरिबलाई दान दिनु हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्व अध्यक्ष निर्दोष अलिले बताए ।

यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवं गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । इदउल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको नाममा पनि गरिनु पर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा उल्लेख छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ ।

यस वर्ष (गत चैत २० गतेदेखि) मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) सुरु गरिएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन रमजान समेत भनिने यो व्रत गरिने उनले बताए । एक महिनासम्म दिनभर व्रत बसेर साँझ सूर्यास्तपछि नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महीनामा भोजन गर्ने परम्परा छ ।
हेर्नुस् तस्विरहरु

Ramjan 2
Ramjan 3
Ramjan 4
Ramjan 5
Ramjan 6
Ramjan 7
Ramjan 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७