प्रेम सरले हतुवागढीमा छोड्न खोजेको पदचाप


२१ बैशाख २०७९, बुधबार
Prem Kumar Rai 1

भोजपुर : नेपालको कम्युनिष्ट आन्दोलनको विकास र बिस्तारमा शिक्षकहरुको भूमिका असाध्यै महत्वपूर्ण छ । कम्युनिष्ट आन्दोलनको इतिहास फर्केर हेर्दा यसको विकास र विस्तारमा शिक्षकहरुले बाटो र उज्यालो दुबैको काम गरेका छन् । हरेक बस्तीमा कम्युनिष्टहरुको आधारभूमि तयार पारीदिने उनै शिक्षकहरु हुन् ।

भोजपुरको कम्युनिष्ट आन्दोलन इतिहास पनि उस्तै छ । अधिकांस वस्तीहरुमा कम्युनिष्ट आन्दोलनको विस्तारको काम शिक्षकहरुले गरेका छन् । यो आन्दोलनको विरासतको अभिन्न पाटो हुन्, शिक्षकहरु । त्यही मध्येका एक हुन्, हतुवागढीका प्रेमकुमार राई । करिव तीन दसक आम मान्छेहरुको बिचमा उनको परिचय थियो, प्रेमकुमार सर । तर स्कुलमा औपचारिक शिक्षा मात्रै पढाएनन् उनले । गाउँबस्तीमा पुगेर कम्युनिष्ट आन्दोलनको उज्यालो पनि छरे । उनले रातो लालटिनको काम गरे । भन्छन्, ‘पेशासँगै प्रगतिशिल र क्रान्तिकारी चेतना निर्माणको अभियानमा हामी अविचलित लागिरह्यौं ।’

भूमिगतकालदेखि नै वामपन्थी आन्दोलनमा लागेका राई २०४३ सालमा नै काठमाडौंको आरआर क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भए । अनेरास्ववियुको राजनीतिपछि उनी २०४६ सालमा भोजपुर फर्किए । २०४६ सालमा उनी इलाका कमिटीमा संगठित भए । उनले सगरमाथा मावि, चन्डेश्वरी प्रावि, जनज्योति मावि लगायतका विद्यालयमा पढाए । सँगै नेकपा (एमाले)को संगठन निर्माणमा पनि क्रियाशिल रहे ।

उनी शिक्षकबाट अवकास पाएसँगै पूर्णकालिन राजनीतिमा फर्किए । २०७० मा नेकपा (एमाले) भोजपुरको अध्यक्षको जिम्मेवारीमा आए । २०७० देखि २०७८ सम्म उनी नेकपा (एमाले) भोजपुरको अध्यक्षको जिम्मेवारीमा थिए । यहीविचमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी हतुवागढी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । शान्त, शालिन र विनम्र स्वभावका अध्यक्ष राईले अघिल्लो निर्वाचन ताका जनताकोबीचमा गरेका अधिकांस प्रतिबद्धता पुरा गरेका छन् । भन्छन्, ‘भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र सुशासनको क्षेत्रमा सम्झनायोग्य काम गरेको छु भन्ने लाग्छ ।’

उनले हतुवागढीमा प्राथमिक स्वास्थ्य केन्द्रबाट टेलिमेडिशिन सेवा सुरु गरेका छन् । १५ शैयाको अस्पताल भवन निर्माण शुरु भएको छ । आँखा उपचार केन्द्र स्थापना गरिएको छ । जटिल रोगहरु (मुटु, मिर्गौला, कलेजो) का बिरामीहरुलाई गाँउपालिकाबाट प्रतिव्यक्ति २५ हजार उपलब्ध गराएर नागरिकको उपचारमा सहज बनाइएका छन् । घोडेटारमा आयुर्वेद औषधालयको शुरुआत गरिएको छ ।


भौतिक संरचना निर्माण तर्फ पनि उलेख्य काम भएको उनको भनाई छ । भन्छन्, ‘गाँउपालिकाभित्रका वडा र गाँउबस्ती जोड्ने सडक निर्माण सम्पन्न भएको छ, गाँउपालिकाको सडक गुरुयोजना, पालिकाको पर्यटन गुरुयोजना बनेको छ ।’ पालिकाको सबै वडाहरुमा विद्युतीकरणको काम भइरहेको छ, पालिकाभित्रका सुख्खा डाँडाहरुमा आकाशे पानीको संकलन पोखरी निर्माण सम्पन्न भएको छ । पालिकाको शैक्षिक गुणस्तर सुधारको लागि १०८ बँुदे घोषणा पत्र जारी गरी त्यसैको आधारमा काम हुँदै भइरहेको उनले बताए ।

फेरि मैदानमा

Prem Kumar Rai
आफ्ना पार्टीका नेताहरुसँग प्रेमकुमार राई


यसपालीको निर्वाचनमा पनि उही पदमा मैदानमा छन्, उनै प्रेमकुमार सर । फेरि किन त ? ‘केही अधुरा सपनाहरु छन्,’ आफ्नो दोस्रो पटकको उम्मेदवारी बारे उनी भन्छन्, ‘पहिलो कार्यकाल भौतिक पूर्वाधार निर्माणमा बित्यो । जनताको अवस्थामा परिवर्तन हुने गरी केही कामहरु छन् । त्यो पुरा गर्ने सङ्कल्पको साथ उठेको हुँ ।’

हतुवागढीका स्थानीयवासी नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष समेत रहेका पत्रकार एक्सन राई भन्छन्, ‘एउटा निष्कलङ्क नेताको नाम हो, प्रेमकुमार राई । भौतिक पूर्वाधार निर्माणको सुरुवात हुदै गरेको गाउँपालिकामा ५ वर्षमा उलटपुलट र उधुम काम गर्न गाह्रो हुन्छ । भौतिक पूर्वाधार, सुशासन र समाजिक न्यायको क्षेत्रमा सुरुवात गर्नुभएको छ । उधुम काम नभएपनि नराम्रो र प्रश्न उठ्ने गरी केही गर्नुभएन त्यो चहि गौरवको बिषय हो भन्ने लाग्छ । यो उहाँको मात्रै होइन हतुवागढीवासीको पनि सम्पति हो ।’

हतुवागढी गाउँपालिका घर भएका युवा नेता इन्द्र थापाको नजरमा प्रेमकुमार राई भद्र, बौद्धिक, शालिन र निष्ठावान् नेता हुन् । भन्छन्, ‘विकास र समृद्धि एकै पटक हुने होइन यो लामो प्रक्रिया र श्रृखला हो । हतुवागढीमा त्यसको सुखद सुरुवात गर्नुभएको छ । तर यहाँनिर एउटा गौरवको बिषय चहिँ उहाँले जे गर्नुभयो विवादरहित गर्नुभयो । मान्छेले प्रश्न उठाउने ठाउँ राख्नुभएन । आलोचकलाई औंला उठाउने ठाउँ नै दिनु भएन ।’

त्यसो त दोस्रो कार्यकालको लागि आफूलाई जनताले अनुमोदन गर्नेमा उनी ढुक्क छन् । भन्छन्, ‘मैले जे गरे निष्ठा र इमानको साथ गरेको छु । मेरो पौरख र पसिना यहाँका जनताहरुको सुख र खुसीसँग जोडेर काम गरेको छु । जनताको अवस्था बदल्ने अभियानमा जनताहरुको साथ रहनेछ भन्नेमा म ढुक्क छु ।’ उनी दोस्रो कार्यकालमा यस्तो गहिरो पदचाप छोडेर विदा हुन चहान्छन्, जुन पदचाप पछ्याएर भावी सन्ततीहरुले उज्यालो भेटोस् । भन्छन्, ‘सम्झनायोग्य कामहरु गरेर जाने मेरो गहिरो सपना र आकङ्क्षा छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७