‘भोजपुरमा अरुसँग फोस्रा गफ बाहेक केही छैन, एमालेसँग समृद्धिको स्पष्ट मार्गचित्र छ’


२२ बैशाख २०७९, बिहीबार
Sharan Rai scaled

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तीन तहको सरकार मध्ये सबैभन्दा तल्लो तहको सरकार अर्थात् स्थानीय तहको निर्वाचन आगमी ३० वैशाख २०७९ मा सम्पन्न हुदैँछ । दलहरु आ–आफ्ना प्रतिबद्धता र संङ्कल्प बोकेर जनताकोबीचमा गइरहेका छन् । यही विचमा नेकपा (एमाले) भोजपुरले भने ‘भोजपुरको विकास र समृद्धिको रणनीतिक गुरुयोजना–२०७९’ तयार गरेर सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन र गुरुयोजनाको बारेमा नेकपा (एमाले) भोजपुरका अध्यक्ष शरणकुमार राईसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेकपा (एमाले) भोजपुरले ‘भोजपुरको विकास र समृद्धिको रणनीतिक गुरुयोजना–२०७९’ सार्वजनिक गरेको छ । यो कस्तो गुरुयोजना हो ?

– तपाई हामीलाई थाहा छ, ‘राजनीतिक परिवर्तन अर्थात् व्यवस्था बदल्नको निम्ती नेकपा (एमाले) भोजपुरका नेताहरुले निर्वाह गरेको भूमिका गौरवमय छ ।’ तर विकास र समृद्धिको हिसाबले भोजपुरको अवस्था उतिधेरै उत्साह लाग्ने खालको छैन । आधरभूत आवश्यकताका भौतिक पूर्वाधार निर्माणको लागि नै भोजपुरले संघर्ष गरीरहनु परेको तितो यर्थाथ हामीसँग छ । ‘भोजपुरले नेता मात्रै जन्मायो तर समृद्धि भएन’ भन्ने खालका आलोचना धेरै सुन्न पाइन्छ । विकास र समृद्धिको ठोस योजना निर्माण नहुँदा राज्यको सबै तहमा भोजपुरहरुको निर्णायक उपस्थीति हुँदाको लाभ समेत उठाउन नसकिएको बिडम्बनापूर्ण अवस्था छ । ठोस योजना भए त्यस अनुरुप भोजपुरबाट निर्वाचित जनप्रतिनिधिहरुले श्रृखलाबद्ध विकासका लागि पहलकदमी लिन सक्छन् । कार्यान्वयनका लागि नेतृत्व गर्न सक्छन् । जनताहरुले पनि त्यस अनुरुप अभियान सञ्चालन र दबाब सृजना गर्न सक्छन् ।

अर्कातिर विकासको आवश्यकता र चाहना अत्याधिक छ । तर स्रोत र साधन सीमित छ । सीमित साधन र स्रोतको प्रयोग मार्फत छोटो समयमा अधिकतम् विकास गर्नुपर्ने बाध्यता हामी कहाँ छ । तसर्थ विकासको रणनीतिक योजना भएन भने ती सीमित स्रोत र साधनको पनि सही ठाउँमा र सही समयमा प्रयोग नहुन सक्छ । योजनाबद्ध विकासबाट मात्रै समृद्धि सम्भव छ । रणनीतिक योजना निर्माण योजनाबद्ध विकासको महत्वपूर्ण ‘गाइडलाइन’ हुन्छ भन्ने हाम्रो निचोड हो । भोजपुरबाट निर्वाचित जनप्रतिधिहरुको लागि विकास योजना निर्माण र कार्यान्वयनको लागि मार्गदर्शक दस्ताबेज पनि यो हुनेछ । हामीले यही तथ्यहरुलाई केन्द्रमा राखेर अबको भोजपुर कस्तो बनाउने ? कति समयअवधिमा कस्तो भोजपुर बनाउने ? त्यसको एउटा वैज्ञानिक र श्रृखलाबद्ध योजनाको दस्ताबेज हो यो ।

हामी कहाँबाट, कुन बाटो भएर यहाँसम्म आइपुग्यौं ? अब कता भएर कहाँसम्म जान्छौं ?’ अर्थात् समृद्धिको हाम्रो दिशा कस्तो हुनेछ ? तिनका चरणहरु के हुनेछन् ? कुन–कुन क्षेत्रको बिकास पछि समृद्धि हासिल हुन्छ ? समृद्धिको हाम्रो मानक के हो ? कस्तो हुनेछन् ? यी तमाम प्रश्नहरुको एकमुष्ट उत्तरको रुपमा नेकपा (एमाले) भोजपुरले ‘भोजपुर समृद्धि’को गुरुयोजना तयार पारेको हो ।

यो गुरुयोजना सार्वजनिक भए लगत्तै केही टिप्पणी र आलोचना पनि सुरु भएको छ । आलोचकहरुको आरोप छ ‘निर्वाचनलाई केन्द्रीत गरेर सस्तो लोकप्रियताको लागि गुरुयोजना बनाइयो ।’ यो आरोप बारेमा के भन्नुहुन्छ ?
–कुनै पनि काम र अभियानप्रतिको टिप्पणी र आलोचना हुन्छ नै । तर तथ्यमा उभिएर आलोचना हो या केवल बिरोधका लागि बिरोध हो त्यो चै हामीले विचार गर्नुपर्छ । भोजपुरको विकास र समृद्धिको गुरुयोजना निर्माण आबश्यक हो या होइन ? गुरुयोजनामा प्रस्तुत योजनाहरु ठिक छन् वा बेठिक ? हामीले बहस गर्ने यसमा हो । कति बेला, कसले ल्यायो ? केवल यसमा मात्रै आलोचना गर्नु, त्यो छुद्र र तुच्छ टिप्पणी बाहेक अरु केही होइन ।

अर्कोतिर निर्वाचनलाई केन्द्रीत गरेर ल्याइयो भन्ने जो टिप्पणी गरिएको छ । त्यसमा कुनै सत्यता छैन । म यहाँ संस्मरण गराउन चहान्छु, म अध्यक्षको जिम्मेवारीमा आएपछि बसेको पहिलो जिल्ला कमिटी बैठक (८–९ फागुन २०७८ )ले यो गुरुयोजना निर्माणको प्रस्ताव गरेको थियो । त्यसपछि करिब एक महिना तथ्य संकलनका लागि हाम्रा सबै स्थानीय तह कमिटीका नेता र निर्वाचित जनप्रतिनिधिहरु खट्नुभयो । हामीले यो तयारीको लामो श्रृखला नै चलायौं ।

भोजपुर बजारमा १७–१८ चैत २०७८ भोजपुर समृद्धिको गुरुयोजना कार्यशाला गोष्ठी भव्यताको साथ सम्पन्न भयो । काठमाडौंमा २८ चैत २०७८ भोजपुर समृद्धिको गुरुयोजना कार्यशाला गोष्ठी भयो । त्यसपछि यो हामीले अन्तिम रुप दिएका हौं । सस्तो लोकप्रियताको लागि लहड र रहरले यो तयार गरेका होइनौं । यो हामीले ऐतिहासिक जिम्मेवारी बोध गरेर तयार पारेका हौं । सस्तो लोकप्रियताको लागि भए त मञ्चमा उभिएर चर्को कुरा गरीदिए पुगीहाल्छ । एकैछिनमा भाइरल भइन्छ । किन यतिलामो र कष्टकर श्रृखला चलाएर तयार पार्नु ?

विकास र समृद्धिको कुरा गरीरहदा नेकपा (एमाले) भोजपुर आफै आधिकारिक निकाय होइन । यो गुरुयोजना कसले, कसरी कार्यान्वयन गर्छ त ?
–असाध्यै राम्रो प्रश्न गर्नुभयो । हो, नेकपा (एमाले) आफैमा कार्यान्वयन गर्ने निकाय होइन । तर कार्यान्वयन गर्ने निकायहरुमा जनप्रतिनिधि पठाउने प्रमुख पार्टी हो । अर्थात् कार्यान्वयन गर्ने निकायहरुमा निर्वाचित हुने त एमोलकै नेता र कार्यकर्ताहरु हो । भोजपुरको सन्दर्भमा आज पनि नेकपा (एमाले) प्रमुख पार्टी हो । फेरि हुनेछ । हाम्रा पार्टीका नेताहरु नै स्थानीय तह, संघ र प्रदेशको जनप्रतिनिधिमा निर्वाचित हुनुहुनेछ । उहाँहरुले पार्टीको यही योजनाको आधारमा काम गर्नुहुनेछ । यसलाई मार्गदर्शनको मानेर काम गर्नुहुनेछ । एकीकृत र योजनाबद्ध विकास गर्नुहुनेछ । हामीले यसरी कार्यान्वयन गर्नेछौं ।

यसले भोजपुरका स्थानीय तहहरुमा निर्बाचित हुनु हुने जनप्रतिनिधिहरुलाई बिकास निर्माणको लागि दिग्दर्शन गर्नेछ । भोजपुरको विकास र समृद्धिको प्रश्नमा सबै नेकपा (एमाले)का र नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरुको समान अवधारणा कायम गरेर योजनाबद्ध र द्रुत विकास गर्न सहयोग गर्नेछ । केवल नेकपा (एमाले)का जनप्रतिनिधिहरुलाई मात्र होइन सबै समग्र राजनीतिक दल र त्यहाँबाट निर्वाचित जनप्रतिनिधिहरुलाई समेत जिल्लाको विकासका मुद्धाहरुमा एकताबद्ध गर्नेछ । समान दृष्टिकोण निर्माणमा सहयोग गर्नेछ ।

अब चुनावी कुरा गरौं, यो पालीको निर्वाचनमा एमाले विरुद्ध गठबन्धन छ । अन्य दलहरुले नेकपा (एमाले)लाई भोजपुरमा ‘क्लिन स्वीप’ गर्छौं भनिरहेका छन् नी ?
– हो र ? त्यसो भनेका छैनन् होला । किनभने नेकपा (एमाले) भोजपुरको लागि गठबन्धन, महागठबन्धन नयाँ होइन । यसअघिका स्थानीय तहको निर्वाचनमा पनि भएको नै हो । यसपाली हामीलाई होइन हामी गठबन्धनलाई ‘क्लिन स्वीप’ गर्छौं । किनभने गठबन्धनसँग सत्तास्वार्थ बाहेक अरु केही छैन ।

हामीसँग भोजपुरको विकास समृद्धिको स्पष्ट योजना छ । मार्गचित्र छ । जनताले हामीलाई भरोसा र विश्वास गरेका छन् । गठबन्धनका नेताहरु भाइरल हुनलाई फोस्रा चुनावी मन्तव्य दिएर हिडेका छन् । हामीले भोजपुरको विकास र समृद्धिको मार्गचित्र बनाएका छौं । हाम्रो गन्तव्यसम्म पुग्नलाई हामीले स्पष्ट बाटो कोरेका छौं । तसर्थ अब भोजपुरे जनता भ्रममा पर्ने छैनन् । यसपाली नेकपा (एमाले)का उम्मेदवार पराजित हुनु भनेको समृद्ध भोजपुरको सपना र संङ्कल्प पराजित हुनु हो । भोजपुरे जनता आफ्नो सपना विरुद्ध आफै उभिने कुराको कल्पना हामी गर्नै सक्दैनौँ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७