‘राजमार्ग’ जस्तो लामो र फराकिलो योजना बोकेर टेम्केमैयुङमा रमा

‘हामी टेम्केमैयुङलाई देशकै उत्कृष्ट गाउँपालिका बनाउँछौं’


२२ बैशाख २०७९, बिहीबार
Rama Rai bhojpur

भोजपुर : रमादेवी राई । दोस्रो जनआन्दोलन २०६२/०६३ की जुझारु विद्यार्थी नेतृ । राजतन्त्र विरुद्धको आन्दोलनमा भोजपुरको ‘फ्रन्टलाइनर’ । जनआन्दोलनको सफलतापछि रमा डिग्रीको लागि त्रिभुवन विश्वविद्यालय गइन् । अर्थशास्त्रमा मास्टर्स डिग्री गरिन् । अर्थशास्त्रको विद्यार्थी । उनको लागि काठमाडौं शहरमा पनि अनेकन अवसर थियो । ती सबै अवसरलाई छोडेर भोजपुर फर्किइन् । भन्छिन्, ‘जिल्लाको लागि केही गर्ने सपना र हुटहुटी बोकेर भोजपुर फर्किएकी हुँ ।’

त्यही सपनाले भोजपुर फर्किएकी रमा यसपालीको स्थानीय तहको निर्वाचनमा टेम्केमैयुङ गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार छिन् । नेकपा (एमाले)को तर्फबाट उपाध्यक्ष पदको उम्मेदवार बनेकी रमा गाउँपालिकाको योजनाबद्ध विकासको लागि योजनाको लामो सूची बोकेर हिडेकी छिन् । ‘एउटा ठुलो विश्वास, सपना र संकल्प बोकेर उम्मेदवारी दिएकी हुँ,’ उनले सुनाइन् ।

सबै अवसरलाई छोडेर भोजपुर फर्किइन् । भन्छिन्, ‘जिल्लाको लागि केही गर्ने सपना र हुटहुटी बोकेर भोजपुर फर्किएकी हुँ ।’


रमाको रफ्तार
भोजपुरको टेम्केमैयुङ–५ मा जन्मिएकी रमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएकी हुन् । अनेरास्ववियुकोे प्राक सचिवको जिम्मेवारीसँगै राजनीतिमा आइन् रमा । विद्यालय पढ्दा नै अनेरास्ववियुमा लागेकी रमा उच्च शिक्षाको लागि गाउँबाट भोजपुर आइन् । भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनसँगै विद्यार्थी राजनीतिमा सक्रिय भइन् । प्राक हुदैँ अनेरास्ववियु भोजपुरको उपाध्यक्ष भइन् । नेकपा (एमाले) भोजपुरका हालका उपाध्यक्ष मकर खड्का अध्यक्ष भएको बेला रमा उपाध्यक्ष थिइन् ।

भोजपुर बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्षा निर्वाचित भइन् । एउटा गजबको संयोग जुरेको छ । रमा भोजपुर बहुमुखी क्याम्पसको कोषाध्यक्ष निर्वाचित भएको बेला सभापति भने ध्रुवराज राई थिए । उनै ध्रुवराज राई अहिले दोस्रो कार्यकालको लागि अध्यक्षको उम्मेदवार छन् । रमा उपाध्यक्षको उम्मेदवार । त्यसो त रमा पनि दंग छिन् । विद्यार्थी कालको आफ्नो प्रिय नेतासँग सहकार्यको एउटा अवसर जुटेको छ । भन्छिन्, ‘उहाँ जस्तो उर्जाशील र गौरवमय इतिहास बनाएर आएको नेतासँग सहकार्य गर्ने अवसर पाउनु खुसीको बिषय हो ।’

अनेरास्ववियुको प्राकदेखि अञ्चल कमिटीको नेतृत्वमा रहेर काम गरिन् । उनलेसँगै पार्टी जिल्ला कमिटी र प्रदेश कमिटी सदस्य भएर काम गरिन् । हाल रमा नेकपा (एमाले) भोजपुरको सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख छिन् । अर्थशास्त्रमा मास्टर्स डिग्री गरेकी रमा अहिले कानुनको विद्यार्थी हुन् । यसअघिको निर्वाचनमा रमाले टेम्केमैयुङबाटै लोकप्रिय मत लिएर वडा सदस्य जितिन् । जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित भइन् ।

जिल्ला समन्वय समिति सदस्य रहेर जिल्लाको समग्र अवस्था गहिरो गरी बुझिन् । ‘जिल्लाको समग्र अवस्था बारेमा गहिरो गरी बुझ्न र जान्ने अवसर पाएँ,’ उनले सुनाईन्, ‘यो अनुभव र ज्ञानको जगमा आफ्नो गाउँपालिको समृद्धि र विकासको लागि धेरै काम गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।’

सपनाको सूची बोकेर रमा

Rama Rai


भोजपुर र खोटाङ्ग जिल्लाको सिमानामा उत्तर दक्षिण फैलिएको डाँडाको श्रृखला छ । त्यो श्रृखला भित्र भोजपुरको चर्चित र सुन्दर टेम्के र मैयुङ रहेका छन् । यही दुई डाँडाको नामबाट टेम्केमैयुङ गाउँपालिकाको नामाकरण गरिएको हो । साबिकको तिम्मा, छिनामखु, अन्नपूर्ण, नागी, खावा, कोट, गोगने र लेखर्क समावेश बनाइएको हो यो गाउँपालिका । रमाको माइती साविकको खावा गाविस । घर साविकको तिम्मा गाविस । पालिका भित्रको सबै भुगोल समस्या थाहा छ, रमालाई । भन्छिन्, ‘मलाई यहाँको भुगोल, यहाँका सबै सुखदुःख थाहा छ,’ भन्छिन्, ‘यहाँको सम्भावना र समस्या पनि थाहा छ ।’

‘जिल्लाको समग्र अवस्था बारेमा गहिरो गरी बुझ्न र जान्ने अवसर पाएँ ,यो अनुभव र ज्ञानको जगमा आफ्नो गाउँपालिको समृद्धि र विकासको लागि धेरै काम गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।’

कामको लामो सूची रहेछ, रमासँग । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटन आदिको सूची । उनले सुनाइन्, ‘हामीले विकास र समृद्धिको योजनाबद्ध सूची तयार पारेका छौं । अहिले यति मात्रै भनौं हामी आगमी ५ वर्षमा हाम्रो गाउँपालिकालाई देशकै उत्कृष्ट गाउँपालिका बनाउनेछौं ।’

टेम्केमैयुङभित्र पर्ने टेम्के डाँडा, सेल्मे डाँडा, पश्चिम उत्तर तर्फ रहेको चखेवा डाँडा लगायत मजुवा पोखरी, हास पोखरी, मैयुङ डाँडा, महभीर झरना, सावा झरना, पन्ची झरना, माक्सा झरना तथा तावा भञ्ज्याङ सबैतिर पुगेकी छिन् रमा । चुनावी दौडधुपको विचमा सुनाइन्, ‘यी सबै सुन्दर ठाउँहरुको विकासको सपना छ मसँग ।’ तिन भंगाले देखी कपासे भन्ज्याङ सडक कालोपत्रे, २५ शैया अस्पताल, मुन्धुम पदमार्गलाई नेपालको प्रमुख गन्तव्यको रुपमा विकास लगायतका विकास योजनाका सूची छ ।

एउटा सुखद संयोग पनि जुरेको छ । उपाध्यक्षको प्रमुख जिम्मेवारी कानुन सम्पादन पनि हो । रमा कानुनको विद्यार्थी हुन् । भन्छिन्, ‘मेरो अध्ययनलाई अभ्यासमा लैजाने अवसर पनि हो यो ।’

रमा राई टेम्केमैयुङको उपाध्यक्ष बन्न खोज्नु टेम्केमैयुङवासीको लागि पनि गर्वको बिषय भएको नेकपा (एमाले) भोजपुरको अध्यक्ष शरण राईको भनाई छ । भन्छन्, ‘रमा कमरेडको लामो सांगठानिक जीवन र अनुभव छ । अध्ययनको हिसाबले अर्थशास्त्रमा मास्टर्स डिग्री, कानुनमा स्नातक । यसअघि विभिन्न मोर्चामा निर्वाचित भएर काम गर्नुभएको छ । यतिको बौद्धिक र अनुभवी मान्छे उपाध्यक्ष भएर काम गर्छु भन्नु सुखद बिषय हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७