ज्योत्सना, जो रङ्गिन शहर छोडेर पानी अभावले पिरोलेको पौवादुङमा फर्किइन्


२३ बैशाख २०७९, शुक्रबार
Jyotsna Rai Bhojpur

भोजपुर : भोजपुर सदरमुकामबाट पूर्व क्षेत्रमा पर्छ, पौवादुङमा गाउँपालिकाका । सदरमुकामबाट पुर्ब क्षेत्रमा रहेका साबिकका श्यामसिला,तिवारीभन्ज्याङ ,च्याङ्ग्रे,बास्तिम, सानोदुम्मा र ठूलोदुम्मा गरि ६ वटा गाउँ विकास समितिलाई समेटेर पौवादुङमा गाउँपालिकाको निर्माण गरिएको हो ।

पौवादुङमाको आफ्नै अलग पहिचान, परिचय र गौरव छ । समस्या पनि अलग छ । दुःख पनि फरक छ । यहाँको सबैभन्दा ठुलो दुःख हो, खानेपाने पानी समस्या । खासगरी सानोदुम्मा, ठुलो दुम्मा क्षेत्रमा पानीको यतिधेरै समस्या छ की पानी समस्याका कहालीलाग्दो कथा भेटिन्छ ।

त्यही समस्यासँग लामो समय पौठजारी खेलेका सैयौं महिला मध्येकी एक हुन्, ज्योत्सना राई । जो भोजपुर टेम्केमैयुङको अन्नपूर्णमा जन्मिइन् । विहे गरेर सानोदुम्मा पुगिन् । भन्छिन्, ‘अधिकांस आमा, दिदिवहिनीहरुको उर्बर समय पानी बोक्दैमा जाने भयनाक समस्या छ, यो क्षेत्रमा ।’

हो, त्यही शुद्ध खानेपानी व्यवस्थापनको अजेन्डा लिएर गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी बनेकी छिन् । नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेकी ज्योत्सनाको एउटा गहिरो सङ्कल्प र सपना रहेछ, ‘पौवादुङमावासीहरुको हरेक घरमा एउटा धारा ।’

जोदाहा ज्योत्सना
अनेरास्ववियुबाट राजनीतिमा आएकी हुन् ज्योत्सना । धर्मोदय मावि छिनामुखमा पढ्दा नै उनी विद्यार्थी राजनीतिमा जोडिइन् । भोजपुर बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह, धनकुटा बहुमुखी क्याम्पसबाट स्नातक तह र त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स डिग्री गरिन् ।

अध्ययन र संगठन दुबैमा सक्रिय ज्योत्सनालाई त्रिवीबाट मास्टर्स डिग्री गरेपछि शहरमा सुविधाले जागिर खाने अवसर थियो । तर उनी उही पौवादुङमा फर्किइन् । उही पानीको समस्याले परिलीरहेको बस्तीमा । केही समय शिक्षण पेशामा लागिन् । तर उनको मनमा सधैं आगो बलीरह्यो, ‘पानील पिरोलको बस्तीलाई कसरी समस्या मुक्त गर्न सकिएला ?’ भन्छिन्, ‘अरुहरुले ठुला समृद्धिको अभियान चलाइरहेको बेला हाम्रो सपना शुद्ध खानेपानीमा नै अल्झिीरह्यो ।’

त्यही सपनाले स्थानीय तहको निर्वाचन २०७४ मा ज्योत्सना गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार बनिन् । तर २६ मतले हारिन् । सपना अधुरै रह्यो । उतिबेला उनको अजेन्डा उही थियो । खानेपानी । यसपाली पनि मुख्य मध्येको एक अजेन्डा उही छ, खानेपानी । भन्छिन्, ‘खानेपानीको समस्याबाट मुक्त गर्न सकिन्छ भन्ने एउटा दृढ विश्वास छ ।’

पौवादुङमाको अर्को समस्या हो गरिबी । यहाँका जनताहरु आर्थिक अवस्था उतिधेरै प्रिय लाग्ने छैन । ज्योत्सनाले सुनाईन्, ‘पानी अर्थात् सिचाईको समस्याले यहाँको अधिकांस जमिनहरु बाझो छ ।’ यहाँका बहुसंख्यक मान्छेहरु कृर्षि पेशामा निर्भर छन् । गाउँपालिकाको कृषि प्रणाली परम्परागत र निर्वाहमूखी छ । त्यसमा पनि पानीको समस्याले कृषकहरु जहिल्यै समस्यामा छन् । भन्छिन्, ‘गरिबी निवारणका लागि उत्पादनमुलक कामको सृजना मेरो अर्को सपना हो ।’

ज्योत्सनाको अर्को मुद्दा स्वास्थ्य क्षेत्रको छ । स्वास्थ्य सेवामा आधरभुत तहको जनताको पहुँच स्थापनाको लागि काम गर्नुपर्ने देख्छीन् उनी भन्छिन्, ‘एउटा चर्चित गीत छ, केही मर्छन् अस्पताल नहेरी, कोहीको घरमा डाक्टरको चाकरी । यो यही बिडम्बनापूर्ण अवस्थाबाट हामीले जनतालाई माथि उस्कास्नुपर्छ ।’

२५ सैयाको अस्पताल निर्माण र सञ्चालन, वडामा वर्थिङ सेन्टरको स्थापना, सबै वडामा एम्बुलेन्सको व्यवस्था, गाँउघर क्लीनकको प्रभावकारिता, जेष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपाङ्गता सहितका व्यक्तिको निशुल्क स्वास्थ्य विमा र गर्भवती महिलाहरुको पोषणको लागि नियमित स्वास्थ्य परीक्षण लगायत उनको योजनाको सूचीमा छ ।


आर्थिक नीति तय गर्दा पनि उत्पादन र रोजगारमुखी बनाउनु पर्नेमा उनको जोड छ । भन्छिन्, ‘हामीले अनुत्पादक क्षेत्रमा होइन रोजगारी मुखी बनाउनुपर्छ ।’

त्यसो त ज्योत्सना विश्वविद्यायमा पढेर गाउँ फर्केकी महिला हुन् । उपाध्यक्षको मुख्य काम न्याय सम्पादन पनि हो । सृदृढ न्याय प्रणालीको विकासको गर्ने उनको योजना छ ।

पर्यटनको हिसाबले पनि यो गाउँपालिका सम्भावना बोकेको छ । अरुण डाँडा, चिवाचुङ डाँडा, शिवालय पार्क, च्याङ्ग्रे पोखरी, सन्तानेश्वर महादेव, शिर्शिरे डाँडाको व्यापक प्रचार र प्रबद्र्धनको आबश्यकता देख्छिन् ज्योत्सना ।

पौवादुङमामा दुङमाली भाषीहरुको संख्या पनि धेरै छ । यसप्रकारको स्थानीय भाषा–संस्कृतिको संरक्षण, अभिलेखीकरण र प्रबद्र्धन स्थानीय सरकारले लिनुपर्ने ज्योत्सनाको भनाई छ । ‘हाम्रो भाषा–संस्कृति हाम्रो अमूल्य र ऐतिहासिक निधि हो । यो बचाई राख्ने काम हामीले गर्नुपर्छ ।’

ज्योत्सनाले अघिल्लो निर्वाचनमा हण्डर खाइन् । तर यसपालीको निर्वाचनमा जित्नेमा ढुक्क छिन् । भन्छिन्, ‘यस पटक असाध्यै न्यानो साथ र माया पाएकी छु । म उत्साहित छु ।’

विनम्र र शालिन स्वभाव छ उनको । इमान र निष्ठाको साथ काम गरेर पालिकाको गौरव बढाउने उनको गहिरो सपना छ । भन्छिन्, ‘मलाई मत दिने हरेक मतदाताले गौरव गर्ने अवस्था सृजना गर्नेछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७