स्थानीय तह निर्वाचन : ज्वाइँ-जेठानको रोचक भिडन्त


२३ बैशाख २०७९, शुक्रबार
1651761285 jwai

सुनसरी । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन । यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाइँ-जेठानबीच पनि रोचक भिडन्त हुँदैछ ।

वडा नं ६ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार छन्, ३९ वर्षीय हरिबहादुर राई । उनका प्रतिस्पर्धी छन्, गठबन्धनबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३६ वर्षीय कृष्णकुमार राई (भुपाल) । गठबन्धनका उम्मेदवार कृष्ण एमालेका उम्मेदवार हरिका आफ्नै कान्छी बहिनी लक्ष्मीका श्रीमान् अर्थात कान्छा ज्वाइँ हुन् ।

निर्वाचनको बेला अलग अलग पार्टीका नेता, कार्यकर्ताहरुबीच आरोप प्रत्यारोप, घोचपेच र बोलचाल नै पनि बन्द हुने गर्छ । कतिपय ठाउँमा झगडा नै पनि पर्छ । यहाँ त झन् प्रमुख प्रतिस्पर्धी दलबाटै ज्वाइँ र जेठान चुनावी मैदानमा छन् । तर पनि उनीहरुबीच सम्बन्धमा कुनै कटुता आएको छैन । दुवै जनाको कुरामा समानता छ, ‘हामी व्यक्तिगत लडाईमा छैनौ, समाज बनाउने र वडाको समग्र विकास गर्ने प्रतिस्पर्धामा छौ । त्यसैले व्यक्तिगत गालीगलौचमा उत्रदैनौं ।’

अर्को रोचकता के पनि छ भने यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उनीहरु वडा सदस्य पदमा एमाले र कांग्रेसबाट उठेका थिए । त्यसबेला एमालेको प्यानलै विजयी भएको थियो । उक्त जित हारले पनि दुवैको पारिवारिक सम्बन्धमा दरार आएन । जेठान हरि भन्छन्, ‘राजनीति समाजलाई राम्रो बनाउन, विकास गर्नको लागि गर्ने हो । मैले ५ वर्षमा के गरे, त्यो मतदातालाई भन्ने हो । गालीगलौज गर्नु पर्दैन, र त्यो खालको राजनीति गर्नु पनि हुन्न । त्यसैले हामीमा कुनै समस्या छैन ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७