‘के हामी भोट बैंक मात्रै हौं ?’


२३ बैशाख २०७९, शुक्रबार
DilkumarLimbu Fungling RSS 222

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका-२ रोकायगाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न आजकाल दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपाङ्गता भएका उनलाई यसअघिका चुनावमा पनि विभिन्न पार्टीका उम्मेदवारले धेरैथरीका आश्वासन दिएका थिए ।

‘चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भनेका थिए’, उनले दुःखेसो पोखे, ‘तर जितेर गएपछि एउटा वैशाखी पनि दिएनन् ।’ यस्तै भेरी नगरपालिका-११ कटीगाउँका डेढ सयभन्दा बढी घरपरिवार हाल ऋणगरी जीविकोपार्जन गर्न बाध्य भएको स्थानीय बताउँछन् । ऋण तिर्नका लागि स्थानीय भारतसहित अन्य मुलुकमा गइरहेका छन् भने केही परिवार गाउँबाट विस्थापित समेत भइसकेका छन् ।

निर्वाचनका बेला पुग्ने सबै उम्मेदवारले ऋण तिरिदिने बाचा गरेपनि जितेर गएपछि गाउँ फर्केर नआएको कटिगाउँका नरबहादुर वरले बताए । ‘हामी त भोट बैंक मात्रै भयौं, मत माग्नका लागि चुनावैपिच्छे झुटो आश्वासन दिन्छन्, जितेपछि गाउँलाई फर्केर पनि हेर्दैनन्’, उनले भने । यसपटक ऋण तिर्ने गरी आयआर्जनमा जोड्ने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनको भनाइ छ ।

वर्षौँदेखि दलहरूले सपना मात्रै बाँडिरहेको वर बताउँछन् । ‘गाउँमा मजदुरी नपाउँदा अधिकांश युवा कमाइ गर्न भारत गएका छन्, पुख्यौली पेशा पनि सङ्कटमा परेपछि जीविकोपार्जनमा समस्या हुँदै आएकोमा कसैले चासो दिएका छैनन्’, उनले भने । गत निर्वाचनमा जनप्रतिनिधिले मतदातालाई गरेका बाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा नभएको उनको भनाइ छ ।

झण्डै तीन-चार वर्षदेखि यस गाउँका अधिकांश नागरिक ऋण गर्दै दैनिक गुजारा गर्नुपर्दा गाउँ छाड्न बाध्य बनेका पाइन्छ । हरेक चुनावमा दलित समुदायको मत निणर्ायक मान्ने दलहरूले दलित समुदायको समस्याका कुरा वर्षौदेखि बिर्सिरहेको उनीहरुको गुनासो छ ।

‘गरिब र निमुखालाई भोटका लागि मात्र प्रयोग गरिएकोमा निकै दुःख लागिरहेको छ, यसअघिको निर्वाचनमा गरेका बाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो निर्वाचनमा केही सोच्नुपर्ने बेला आएको छ’, कुशे गाउँपालिका-४ का दत्तबहादुर नेपालीले भने । लिखित प्रतिबद्धताविना मत नदिने उनको तर्क छ । ‘अहिले त हामी गाउँका सबैले उम्मेदवारले लिखित सहमति गरेपछि मात्र भोट दिने निणर्य गरेका छौं’, उनले थपे, ‘नेताहरूले जितेपछि महल ठड्याउँछन्, हामी भने मजदुरीका लागि बर्सेनि भारत जानुपर्ने बाध्यता छ ।’

यस भेगका दुई हजारभन्दा बढी परिवार मजदूरी गर्न बाहिर गएको नेपालीले बताए । अघिल्लो निर्वाचनमा उम्मेदवारले ल्याएका एजेण्डा फेरि दोहोरिएको नलगाड नगरपालिका-३ का गङ्गराम नेपालीले बताए । ‘यसपल्ट पनि हाम्रा लागि फकाउने पूरानै एजेण्डा मात्रै छन्’, उनले भने, ‘अब त यो चुनावमा पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ, अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७