चितवनमा आइतबार एमालेको शक्ति प्रदर्शनसहित चुनावी सभा

सहभागीलाई निःशुल्क यातायात


२४ बैशाख २०७९, शनिबार
IMG 90042021 11 23 04 29 03 scaled

चितवन । आसन्न स्थानीय तह निर्वाचनको ‘इपी सेन्टर’ बनेको चितवनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शक्ति प्रदर्शनसहित आइतबार बृहत् चुनावी सभा गर्दैछ । क्याम्पा चौरमा १ बजे हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

यस्तै उपाध्यक्ष रामबहादुर थापा, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि चुनावी सभालाई सम्बोधन गर्ने एमाले बागमती प्रदेश इञ्चार्ज काशीनाथ अधिकारीले जानकारी दिएका छन् । पाण्डे भरतपुर महानगरपालिकाको चुनावी ‘कमाण्डर’ हुन् । चितवन थापाको गृह जिल्ला हो, उनी शुक्रबार नै चितवन आइपुगेका छन् ।

त्यसबाहेक चुनावी सभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले पनि सम्बोधन गर्ने तयारी छ । चितवनमा एमाले र राप्रपाबीच गठबन्धन छ । ‘कार्यक्रम एमालेको आयोजनामा भए पनि विक्रमजीले पनि सम्बोधन गर्ने सम्भावना छ’, अधिकारीले सुनाए, ‘किनभने यहाँ राप्रपासँग हाम्रो गठबन्धन छ ।’

सहभागीलाई निःशुल्क यातायात
एमालेको चुनावी सभामा सहभागिता व्यापक बनाउन विभिन्न स्थानबाट नागरिक सभास्थल ल्याउन र लैजान निःशुल्क गाडीको व्यवस्था गरिएको प्रचार गरिएको छ । हिजोदेखि नै वडा नम्बर २१, २६ र २० लगायत वडामा माइकिङ गरेर त्यसको प्रचार गरिएको छ ।

सहभागी व्यापक बनाउन प्रचार प्रसार तीव्र पारिएको छ, शनिबार भरतपुर बसपार्क हुँदै, पुल्चोक नारायणगढ र क्याम्पाचौर आसपास मोटरसाइकल र्‍याली गरिएको अधिकारीले बताए । चुनावी सभाबारे एमाले चितवनले शनिबार १ः३० मा पत्रकार सम्मेलन गर्दैछ ।

यसैबीच एमालेको भरतपुर प्रमुखका उम्मेदवार विजय सुवेदी, चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेसहित जिल्ला नेताहरूको उपस्थितिमा पर्साघाटमा क्षेत्रीय चुनावी सभा राखेको छ । सुवेदी अहिले भरतपुरको वडा २६ को घरदैलो अभियानमा छन् । पाँच दलीय गठबन्धनले शनिबार वडा २७ र २८ मा घरदैलो अभियान गर्दै छ । सत्ता गठबन्धनले पनि यसअघि चितवन भरतपुरमा संयुक्त चुनावी सभा गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७