मोटरसाइकल दाइजो नदिए बेहुली लैजान्न भन्ने बेहुला पक्राउ


२४ बैशाख २०७९, शनिबार
pakrau
फाइल फोटो

झापा । मोटरसाइकल दाइजो नदिए बेहुली नलैजाने भनेर बिहेको जग्गेमै दबाब दिएको अभियोगमा प्रहरीले बेहुला पक्राउ परेका छन् । पक्राउ पर्ने बेहुला झापा गाउँपालिका-४ का २८ वर्षीय डेबिट चौधरी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए ।

उनका अनुसार मेचीनगर-१५ निवासी पुष्पलाल राजवंशीको छोरीसँग चौधरीको शुक्रबार विवाहको दिन थियो । बिहे सकेर बेहुली अन्माउने बेलामा चौधरीले मोटरसाइकल दाइजो नदिए बेहुली नलैजाने अड्डी कसेका थिए । आर्थिक अवस्था कमजोर रहेका बेहुलीका बुवा पुष्पलालले सम्झाउँदा समेत नमानेपछि विवाह कार्यक्रम बिथोलिएको थियो । अहिले नै दाइजो मागेर तनाव दिनेसँग म बिहे गर्दिन भनेर बेहुलीले भनेपछि पुष्पलालले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरी टोलीले बेहुला बनेका चौधरीलाई जग्गेबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । हाल आरोपितलाई धुलाबारी इप्रकाको हिरासतमा राखिएको छ । पुष्पलालको घरमा शुक्रबार दुई छोरीको एकै दिन विवाह थियो । अर्की छोरीको विवाह दाइजो बेगर नै सम्पन्न भएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा ७४ मा विवाहमा कुनै लेनदेन गर्न नहुने कानुनी व्यवस्था छ । लेनदेन भन्नाले दाइजो समेत बुझिन्छ । यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद वा रु ३० हजार जरिवाना वा दुवै सजाय हुने कानुनमा व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७