सुर्खेतमा स्कार्पियो र मिनीबसमा आगजनी


२५ बैशाख २०७९, आईतवार
aagajani

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर मङ्गलगढी चोकमा स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि झण्डा राखिएका दुई गाडीमाथि आगजनी गरिएको छ ।

शनिबार अपराह्न २ बजे वीरेन्द्रनगर नगरपालिका-६ मङ्गलगढी चोक नजिकै सत्कार होटल सडक छेउमा रोकी राखेको बा १४ च ६८३१ नम्बरको नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको झण्डा राखिएको स्कार्पियो गाडीमा अपरिचित व्यक्तिले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । उनका अनुसार आगजनीबाट स्कार्पियोको पछिल्लो टायर जलेको र प्रहरीले तत्काल आगो नियन्त्रण लिँदा बाँकी क्षति हुनबाट जोगिएको छ । 

यता प्रहरीले आगो नियन्त्रण गर्दैगर्दा मङ्गलगढी चोकबाट ७०० मिटर पश्चिममा रहेको तीनतोली होटल अगाडि रोकी राखेको अर्को गाडीमा अपरिचित व्यक्तिले आगो लगाएको उहाँले बताउनुभयो । तीनतोली होटलमा रोकेको नेकपा (एमाले) को झण्डा र माइक राखेको क प्र ०२-००१ प ००६१ नम्बरको मिनीबसमा आगजनी गरिएको थियो ।

प्रहरी र दमकलको सहयोगमा अपराह्न ३ बजे आगो नियन्त्रणमा लिइएको जनाउँदै प्रहरी नायब उपरीक्षक घर्तीले  मिनीबसका सबै सिट जल्नुका साथै सिसा फुटेको बताए । आगजनी गर्ने व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७