मुलुकमा सुशासन स्थापित गर्न राप्रपाले मात्र सक्छ  : राजेन्द्र लिङ्देन


२५ बैशाख २०७९, आईतवार
Rajendra lingden 2 scaled

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि बढेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखराको मानवअधिकार चोकमा शनिबार आयोजना गरेको विशेष चुनावी आमसभामा अध्यक्ष लिङ्देनले अन्य पार्टीले देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको आरोप लगाउँदै राप्रपा मात्र देशलाई बचाउने र बनाउने पार्टी भएको दाबी गरे । उनले स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई भोट हालेर राप्रपालाई सबै नागरिकको साझा पार्टी बनाउन आग्रह गरे ।

      उनले भने, ‘पोखरामा हामीले सोचे जस्तो मत आउन सकेको छैन, अब भ्रष्टाचारमुक्त पोखरा बनाउने जिम्मा म लिन्छु राप्रपालाई भोट हाल्नुस्, यो सुन्दर नगरी हामी अझ सुन्दर बनाउने जिम्मा हामी लिन्छौं ।’ लिङ्देनले अरू पार्टीका नेतामा दम्भ र अहमता हाबी हुँदै गएको र जनताप्रति उत्तरदायी हुन नसकेको जिकिर गर्दै एकचोटि राप्रपाको नेतृत्वलाई हेर्न आग्रह गरे । उनले अबको आफ्नो जिन्दगी इमान्दारिताको राजनीति गरेर मुलुकमा सुशासन स्थापित लागिपर्ने बताए । पछिल्लो समय राप्रपाप्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्दै उनले अब राप्रपा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गरे ।

      राप्रपाकी नेत्री रेखा थापाले सबै जात, जाति, भाषाभाषीको न्याय, अधिकार र स्वतन्त्रताका लागि राप्रपा एक मात्र पार्टी भएको बताइन् । राप्रपाले महिला र बालबालिका ज्येष्ठ, युवा सबै सबैका मुद्दालाई सम्बोधन गरेर अघि बढ्ने उनको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा महानगरको प्रमुखको उम्मेदवार बनेका शङ्कर खरालले अन्य पार्टीको नेतृत्व जनताले हेरिसकेकाले अब पर्यटकीय सहरलाई थप सुन्दर र भ्रष्टाचार मुक्त बनाउन आफ्नो पार्टीलाई मत दिन अपिल गरे । 

त्यसैगरी उपप्रमुखमा रञ्जना सेन पौडेलले आफूहरूले राष्ट्रियताको सवाल स्पष्ट धारणा लिएर  जनतामाझ पुगेको बताउँदै आफूहरूलाई जनताका साथ रहने विश्वास व्यक्त गरे । सो अवसरमा राप्रपा युवा सङ्गठन कास्कीका अध्यक्ष विजयबहादुर भण्डारीको पहलमा चुनावी आमसभामा करिब ७०० जना युवाहरु पार्टी प्रवेश गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७