उम्मेदवारसँग जनताको माग : बिजुली र ग्रामीण सडक


२५ बैशाख २०७९, आईतवार
bijuli
फाइल फोटो

उदयपुर । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर जनताको घरदैलोमा भोट माग्न आउने राजनीतिक दलका नेता तथा उम्मेदवासँग यहाँका ग्रामीण भेगका अधिकांश जनताले ग्रामीण सडक व्यवस्थापन र टोलटोल तथा घरघरमा बिजुली व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।

      जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका वडा नं ३ सातदोबाटे साँझखर्कका ६५ वर्षीय स्थानीय सोनाम शेर्पा यसपटकको स्थानीय तहको निर्वाचनमा जुन पार्टीका उम्मेदवारले आफ्नो गाउँमा बिजुली ल्याउने प्रतिबद्धता गर्दछ, उसैलाई मात्र भोट दिने बताउँछन् ।

यसभन्दा अगाडिको निर्वाचनमा विजय भएर गाउँपालिकाको प्रतिनिधि बनेका राजनीतिक दलका जनप्रतिनिधिले आफूहरुको गाउँ र घरघरमा बिजुली ल्याइदिने तथा गाउँ नै झलमल्ल बनाइदिने भने पनि उनीहरुले प्रतिबद्धता पूरा नगरेका कारण आफूले यसपटक जसले आफ्नो गाउँको माग पूरा गर्ने प्रतिबद्धता गर्दछ, यस्ता उम्मेदवारलाई मात्र मतदान गर्ने उनले बताए ।

लिमचुङ-५ जातेका ५७ वर्षीय जगतबहादुर राईको पनि धारणा शेर्पाकै जस्तो छ । ‘यसअघिको निर्वाचनमा उम्मेदवार बनेर विजय हुनेले आफूहरु विजय भए गाउँमा बिजुली ल्याएर गाउँ नै झिलीमिली बनाउने भनेर हामीलाई ढाँटे, आफू अहिलेसम्म यी दुर्गम गाउँघरमा अध्याँरोमा नै बस्न बाध्य छौं, यसपटक चाहिँ हाम्रो गाउँमा बिजुली ल्याउन प्रतिबद्धता नगर्ने नेताहरुलाई भोट नै नदिने गाउँलेले सल्लाह गरेका छौं’, उनले भने ।

लिम्चुङबुङ ताम्लीछाका जुद्धमान राईका अनुसार अहिलेसम्म पनि गाउँमा बिजुली छैन । ग्रामीण सडक व्यवस्थापन भएको छैन । ‘वर्षायाममा सडक सञ्चालन नहुँदा गाउँले हिँडेर दिनभर लगाएर अन्यत्र जान र आउन बाध्य छौँ, यसपटकको निर्वाचनमा गाउँमा बिजुली ल्याउन प्रतिबद्धता नगर्ने नेता र सडक व्यवस्थापन नगर्ने नेता उम्मेदवारलाई भोट नदिने धारणा हाम्रो हो’, उनी भन्छन् ।

रौतामाई गाउँपालिका-४ आपटार कालीमाटीका होमबहादुर कटुवाल पनि यसपटकको स्थानिय तहको निर्वाचनमा गाउँमा बिजुली ल्याउन पहल नगर्ने उम्मेदवारलाई भोट नदिने बताउँछन् । अन्यत्र सबैतिर बिजुली आइसकेकाबेला आफूहरु गाउँघरमा अहिलेसम्म पनि अँधेरोमा नै बस्न बाध्य हुन परेकाले यसपटकको निर्वाचनमा गाउँमा एक वर्षभित्र बिजुली जसले ल्याउने प्रतिबद्धता गर्दछ, यसैलाई भोट दिने कटुवाल बताउँछन् ।

गढी गाउँपालिका-३ डुम्म्रेका सोमबहादुर घले पनि यसपटकको निर्वाचनमा गाउँमा सडक व्यवस्थापन र बिजुली व्यवस्थापन गर्नसक्ने तथा व्यवस्थापनको प्रतिबद्धता गर्ने नेता वा उम्मेदवारलाई मात्र भोट दिने बताउँछन् ।

वर्षायाममा ग्रामीण सडक बन्द हुँदा आफूहरुले विभिन्न दैनिक उपभोग्य वस्तु आयात गर्न समेत कष्ट भोग्न पर्ने हुनाले ग्रामीण सडक ग्राभेलिङ भए मात्र भए पनि गाउँको ठूलो समस्या समाधान हुने हुनाले निर्वाचनमा उठ्ने नेताले आफूहरुको समस्या समाधान गर्ने प्रतिबद्धता गर्नुपर्ने डुम्रेका जनता बताउँछन् ।

यस पटकको निर्वाचनमा स्थानीय तहका पालिकामा उम्मेदवार बनेका राजनीतिक दल आबद्ध उम्मेदवारसँग जिल्लाका पहाडी गाउँपालिकाका अधिकांश जनताले गाउँ र टोल तथा घरघरमा बिजुली र ग्रामीण सडक व्यवस्थापन हुनपर्ने मागलाई जोड दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७