गठबन्धन दलको प्रतिबद्धता : नगरको हरेक घरमा स्वच्छ खानेपानीको धारा


२५ बैशाख २०७९, आईतवार
dhara
फाइल फोटो

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवारले प्रत्येक घरमा स्वच्छ पिउने पानीको धारा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । नगरमा चार दलीय गठबन्धनका साझा उम्मेदवारले १३ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्र नगरभित्र बसोबास गर्ने हरेक नागरिकको घरमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार स्वच्छ पिउने पानी उपलब्ध गराउने घोषणापत्रमार्फत प्रतिबद्धता जनाएका हुन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीको साझा उम्मेदवारले नगरपालिकाभित्र कुनै पनि प्रकारको भ्रष्टाचार नगर्ने तथा गर्न नदिने र गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् । सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा युवालाई उद्यमशीलतामा जोड्न स्थानीय कच्चा पदार्थको उपयोगगरी साना तथा मझौला उद्योगको स्थापना गरेर पाँच वर्षभित्र प्रत्येक वडामा १०० जनालाई स्वरोजगार बनाउने उल्लेख छ ।

नगरको स्रोत साधनको दुरुपयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्दै ७५ वर्षमाथिका वृद्धवृद्धा, अशक्त र अपाङ्गता भएका नागरिकलाई नगरपालिकाको सेवा लिन जाँदा/आउँदा निःशुल्क यातायात सेवा उपलब्ध गराउने, बालशिक्षा सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारी (लेखापाल, कार्यालय सहयोगी) लाई सङ्घीय सरकारले तोकेको थप तलब तत्काल उपलब्ध गराउने, कृषि सहकारी, कृषि फार्म र कृषि समूहमार्फत निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण गरी नगरलाई कृषिमा आत्मनिर्भर बनाउने र कृषि बाली र पशुको बीमा निःशुल्क गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

स्वास्थ्य बीमा नगरेका नगरपालिकाभित्रका विपन्न नागरिकको बीमा निःशुल्क गर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनभत्ता स्वरुप मासिक रु तीन हजार उपलब्ध गराउने, नगरभित्र रहेका माध्यमिक विद्यालयमा खेल प्रशिक्षक नियुक्त गरी नियमित खेल प्रशिक्षण गराउने, लैङ्गिक उत्तरदायी बजेट कूल पुँजीगत बजेटको १० प्रतिशत विनियोजन गरी महिला सशक्तिकरणको काम गर्ने, हिंसापीडित बालबालिका र महिलाको लागि पुनः स्थापना केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएको छ । विभेदरहित छवाछुतमुक्त नगर घोषणा गर्दै दलित समुदायले परम्परागत रुपमा गर्दै आएका पेशा र व्यवसायलाई आधुनिकीकरण गर्न अनुदानको व्यवस्था गर्ने र स्वास्थ्य शिक्षा, रोजगारीको सुनिश्चितता गर्ने गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

गठबन्धनको तर्फबाट नगर प्रमुखमा कांग्रेसका तीर्थराज भट्टराई र उपप्रमुखमा माओवादी केन्द्रका विसन राईले उम्मेदवारी दिएका छन् । एक्लै चुनावी मैदानमा उत्रिएको नेकपा (एमाले) ले प्रमुखमा कुमार आचार्य र उपप्रमुखमा विणादेवी राईलाई अघि सारेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको सबैभन्दा ठूलो तथा सबैको ध्यान केन्द्रित हुने यस नगरमा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अघिल्लो निर्वाचनमा एमालेले नगर प्रमुख र उपप्रमुखसहित पाँच वडामा जित हात पारेको थियो । नगर प्रमुखमा एमालेबाट दीपनारायण रिजालले पाँच हजार ३४३ मत ल्याएर विजयी हुँदा कांग्रेसका राजनशेर राईले चार हजार ७१८ मत र माओवादी केन्द्रबाट दुर्गाजयन्ती राईले चार हजार ४३४ मत प्राप्त गरेकी थिइन् ।

पन्ध्र वडा रहेको यस नगरमा वडा नं. ८ बुवालुङ, १४ बुइपा र वडा नं. १५ विजयखर्कमा कांग्रेससहित चुनावी तालमेल भएको छ भने अन्यमा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच मात्र तालमेल भएको छ ।

यही वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा यस नगरपालिकाका ३४ हजार ७८ जनाले मतदान गर्न पाउने छन् । १० स्थानीय तह रहेको खोटाङमा एक लाख ४३ हजार ७५२ जना मतदाता छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७