रुकुम (पूर्व) मा मादक पदार्थ सेवन, बिक्री वितरण पूर्णरुपमा बन्द


२५ बैशाख २०७९, आईतवार
madira 1 1

रुकुम । रुकुम (पूर्व) मा यहीं वैशाख २५ गतेबाट मादकपदार्थ सेवन र बिक्री वितरणमा रोक लगाइने भएको छ ।  स्थानीय तहको चुनावलाई लक्ष गरेर जिल्लाभरी नै २५ गतेदेखि मत परिणाम घोषणा नहुँदासम्म पूर्णरूपमा मादक पदार्थ सेवन एवं बिक्री वितरणमा रोक लगाउने निर्णय शनिबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले गरेको हो ।

बैठकले मतदानका दिन सबै मतदानस्थलमा तोकिएको क्षेत्र भित्र मोबाइल प्रयोग नगर्न र साथमा लिइ नआउन अनुरोध गर्नाका साथै  अत्यावश्यक वस्तु एवं सेवाको आपूर्ति व्यवस्था सहज बनाइराख्न पनि भनेकोे छ ।

स्वास्थ्य, खानेपानी, टेलिफोन, विद्युत्, अस्पतालबाट दिइने अत्यावश्यक सेवाहरु निरन्तररुपमा उपलब्ध हुने व्यवस्था मिलाउन र कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गरी निर्वाचन गतिविधि सञ्चालन गराउने  निणर्य गरिएको छ । वैशाख ३० गते मतदानका दिन अनुमति प्राप्त गरेका सवारीसाधनबाहेक आम सवारीसाधन बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्ने निणर्य पनि सर्वपक्षीय बैठकले गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा जिल्लास्थित सुरक्षा निकाय एवं विभिन्न राजनीतिक दलका प्रमुख तथा  प्रतिनिधि, यातायात, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, पत्रकारको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७