दुर्गम क्षेत्रमा मतदान सामग्री पठाउन थालियो


२५ बैशाख २०७९, आईतवार
matpatra 1 scaled

ताप्लेजुङ । ताप्लेजुङको दुर्गम क्षेत्रका मतदान केन्द्रहरूमा मतदान सामग्री पठाउन थालेको छ । दुर्गम क्षेत्रमा रहेको मतदान केन्द्रमा पुग्न दुई-चार दिन लाग्ने भएकाले समयमै मतदान सामग्री पठाउन थालिएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

सो क्षेत्रमा खटिएका मतदान अधिकृतले जिल्ला निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर लगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपीन दुलालले जानकारी दिए । दुर्गम क्षेत्र याङ्मा, ग्याब्ला, कालिखोला, सादेवा, आङ्खोप, पेदाङलगायत स्थानका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमार्फत मतपत्रसहितका सामग्री पठाएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै याम्फुदिन, घुन्सा, ओलाङ्चुङगोलालगायत स्थानका लागि भने आज मतदान सामग्री पठाउने तयारी भइरहेको सूचना अधिकारी दुलालले बताए । टाढा र दुर्गम मतदान केन्द्र रहेका स्थानलाई प्राथमिकतामा राखेर मतदान सामग्री बुझाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङमा ७३ मतदानस्थल र १२२ मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७