गठबन्धन दायाँ-बायाँ भए फेरि देश दुर्घटनामा पर्छ : प्रचण्ड


२५ बैशाख २०७९, आईतवार
Prachanda pokhara scaled

पोखरा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन जन्मिएको बताएका छन् ।

आज (आइतबार) पोखरामा आयोजित चुनावी सभालाई सम्बोधनका गर्दै उनले भने, ‘यो गठबन्धन दायाँ-बायाँ भए देश पुनः दुर्घटनामा जानसक्छ । गणतन्त्र, संविधानको रक्षा र अर्कोतिर सबैलाई फाइदा हुन्छ ।’

प्रचण्डले यो गठबन्धनले संविधानको रक्षा गर्दै गठबन्धनका सबै दलहरुलाई फाइदा गरेको बताएका छन् । ‘एकातिर राजनीतिक मुद्दा मिल्ने अर्कोतिर फाइदा हुने भएकाले गठबन्धन हुने हो’, उनले भने, ‘ ५० प्रतिशत कांग्रेलाई फाइदा, माओवादीलाई पनि फाइदा, एकीकृत समाजवादीलाई पनि फाइदा, जनमोर्चालाई पनि फाइदा, जनता समाजवादीलाई पनि फाइदा छ ।’

गठबन्धनबीच महानगर र उपमहानगर बाँडफाँट गर्नु सजिलो नभएको बताउँदै उनले अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको भएको पनि जिकिर गरे ।

‘हामी शान्ति, अग्रमन र प्रगतिका पक्षधर र प्रतिगामीको पक्षधरबीच लडाइँ चलिरहेको छ’, उनले भने,‘अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धी बचाउनको लागि हाम्रो गठबन्धनको तर्फबाट उम्मेदवार बनेका मेयर, उपमेयर र वडाहरुमा पनि विजयी गराएर गठबन्धनको संस्कृतिलाई, गठबन्धनबाटमात्रै राजनीतिक उपलब्धि बचाउने सम्भावना छ । एउटा ठूलो षड्यन्त्र लोकतन्त्र र संघीयताविरुद्ध हुँदै थियो, त्यसविरुद्ध यो गठबन्धन जन्मिएको हो । यसविरुद्ध राजावादीहरुको गठबन्धन बनेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७