गठबन्धनले जनताको विश्वास जित्दै आएको छ : माधव नेपाल


२५ बैशाख २०७९, आईतवार
Madhav nepal pokhara scaled

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताएका छन् ।

पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको लोकतान्त्रिक र वामपन्थी गठबन्धन इतिहासको लामो कालखण्डमा खारिंदै आएको र प्रत्येक मोडमा आफ्नो विचार र व्यवहारबाट नै जनताको विश्वास जित्दै आएको उल्लेख गरे ।

उनले भने, ‘गठबन्धन गरेर हामीले राम्रो र सही काम गरेका छौं । कांगेस र कम्युनिष्ट मिलेर नै विसं २००७ र विसं २०४६ सालको परिर्वतन गरेका हौं । विसं २०६२ को जनआन्दोलन सफल पारेर गणतन्त्र स्थापना गर्दै संविधानसभाको चुनाव र संविधान निर्माण गरेर घोषणा पनि गठबन्धनबाट नै सम्भव भएको हो ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले दक्षिणपन्थी र संविधान विरोधी गठबन्धन गर्दैै दुई/दुई पटक संविधानको गलत व्याख्या गरेर प्रधानमन्त्रीको अधिकारको दुरुपयोग गरेर संसद् विघटन गरेको आरोप लगाए ।

अध्यक्ष नेपालले पोखरालाई पर्यटकीय नगरमा विकास गर्ने, तालतलैयाको संरक्षण र बस्तीलाई राम्रो बनाउने, रोजगारी प्रवद्र्धनसहित शिक्षा, र स्वास्थ्यका क्षेत्रमा विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

भ्रष्टाचार नगर्ने, सुशासनको प्रवद्र्धन, जनताको मन जित्ने, विश्वास जित्ने र जनतासँग निरन्तर भेटघाट गरिरहन समेत उनले उम्मेदवारलाई सुझाव दिए । संसारलाई आकर्षित गर्न सक्ने पोखरा महानगरको प्रमुख/उपप्रमुख पद धेरै महत्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले फेवाताललाई जोगाउने र अतिक्रमण हटाउनु आवश्यक रहेको स्पष्ट पारे । उनले तालको अतिक्रमण नहटाउँदासम्म पोखराको आफ्नो पहिचानलाई जोगाउन नसकिने समेत उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७