देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याए : ओली

‘कांग्रेस कार्यकर्तालाई पीर बिसाउने ठाउँ छैन’


२५ बैशाख २०७९, आईतवार
kp sharma oli GMOp3Fhfh2

चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले पदका लागि पार्टी सिध्याएको टिप्पणी गरेका छन् ।

चितवनको भरतपुरमा जारी चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसका सभापति देउवामाथि पदका लागि पार्टी समाप्त गरिरहेको टिप्पणी गरेका हुन् । ‘नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन् के हेरेर बसेका छन् ?,’ ओलीले भने, ‘पार्टी सिद्धियो नेपाली कांग्रेस, मैले केही भनिरहनु पर्दैन ।’

‘कार्यर्तासँग केही छैन । बिचराहरुको कति मुटु पोलेको होला, कति मन दुःखेको होला । छाती समातेर बसेका होलान्,’ ओलीले भने । अध्यक्ष ओलीले भरतपुरमा छोरी नजिताए देश दुर्घटनामा पर्छ भनेर कांग्रेसका कार्यकर्तालाई धम्क्याएको टिप्पणी गरेका छन् ।

ओलीले देउवाले आफू प्रधानमन्त्री बन्नका लागि कांग्रेस सिद्ध्याउन लाग्दा पनि कार्यकर्ताले पीर बिसाउने ठाउँ नभएको बताए । ओलीले भने, ‘चितवन कांग्रेस कार्यकर्ताप्रति मेरो सहानुभूति छ, उहाँहरूको कुनै दोष छैन । प्रकाश सपुतले गीतमा भने जस्तै उहाँहरूले पीर बिसाउने ठाउँ पनि पाउनु भएन । मेरी छोरीलाई भोट दिएनौ भने देश दुर्घटना हुन्छ भनेर प्रचण्डले धम्क्याउँदा पनि उनीहरूले नेतृत्वबाट ढाडस पाएका छैनन् । तर ढुक्क हुनुस् प्रचण्डकी छोरी हार्दा देश दुर्घटना हुँदैन बरु एउटा घटना हुन्छ, त्यो के हो भने गठबन्धनले नराम्रोसँग हार्छ ।’

चितवनका कांग्रेस कार्यकर्ताहरू प्रचण्डका बाबु छोरी बोक्न विवश भएको भन्दै उनले भोलि प्रचण्डका भाइ,भतिजा र बुहारीहरू पनि बोक्नुपर्ने अवस्था आउन सक्ने ओलीले बताए । आफ्नी छोरीलाई जिताए २० वर्ष यही गठबन्धन राखेर कांग्रेस कार्यकर्तालाई हँसिया हतौडामा भोट हाल्न लगाउने घोषणा प्रचण्डले गरिसकेको ओलीको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७