भरतपुर पुगेर ओलीले भने, ‘यहाँको विकासको जिम्मा मलाई दिनुहोस्’


२५ बैशाख २०७९, आईतवार
Kp oli chitwan

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासको जिम्मा आफूलाई दिन आग्रह गरेका छन् । नेकपा (एमाले) चितवनले आज यहाँ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालेका उम्मेदवारले जित हासिल गरेमा विकासको जिम्मा आफ्नो हुने बताए ।

प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने भन्दै उनले भने, ‘यहाँ विजयी सुवेदीलाई जिताउनुहोस्, विकासको जिम्मा मेरो ।’ सुवेदीको पार्टीको माथिल्लो नेतृत्वसँग हटलाइन सम्बन्ध भएको भन्दै उनले विकासमा पहुँच पुग्ने बताए ।

भरतपुर महानगरलाई आधुनिक सहरसँग स्मार्ट सिटी बनाउनु पर्ने भन्दै उनले यो काम सुवेदीबाट सम्भव भएको बताए । गठबन्धन लामो समय नटिक्ने भन्दै उनले निर्वाचन खटिने राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरीसँग परोक्ष र प्रत्यक्ष भूमिका खेल्ने सबैलाई विचलित नभई निर्वाचन निष्पक्ष बनाउन आग्रह गरे । उनले भने, ‘एमाले र एमालेको नेतृत्वको यस अभियानमा कुनै सहयोग गर्नु पर्दैन, निष्पक्ष, शान्तिपूणर् वातावरणमा सम्पन्न गर्नुहोस् ।’ उनले थपे, ‘निर्वाचनपछि एमालेको सरकार बन्छ ।’

एमालेले सरकारमा खुट्टा टेक्यो कि विकासको गति पाँचौं गियरमा कुद्ने भन्दै उनले विभिन्न समस्या झेलेर पनि काम गरेको बताए । उनले भने, ‘एमाले सरकारमा गर्‍यो कि नाकाबन्दीको सामना, गर्छ, उत्तरतिरबाट पारवहनको बाटो खुल्छ, विकासका गति अघि बढ्छन् ।’ निर्वाचन देश बनाउने सवाल भएको भन्दै उनले एमालेले राष्ट्रिय अभियानको अगुवाई गरिरहेको दाबी गरे ।

निर्वाचन आयोगले पार्टीका झण्डाका विषयमा जारी गरेको आदेशप्रति संकेत गर्दै उनले भने, ‘निर्वाचन आयोगले कसलाई जारी गरेको आदेश ? पाँच दलका नेताहरू सँगसँगै हिंडेर एकले अर्काका लागि भोट मागिरहेका छन् । एकले अर्को झण्डा र उम्मेदवार बोकेको छ । अर्कैको प्रचार गरेको छ ।’

सभामा पार्टी उपाध्यक्ष रामबहादुर थापाले समृद्ध नेपाल र समाजवादको बाटोमा जाने पार्टी एमाले भएको बताए । उनले भने, ‘नेपालमा समाजवादको आधार सिर्जना गर्ने हो, पूणर्रुपमा विदेशी हस्तक्षेप रोक्ने काम एमालेले गर्छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले देशमा राष्ट्रवादीहरुको एकता चितवनको माडी र भरतपुरबाट सुरु भएको बताए । उनले भने, ‘नेपालका सुन्दर महानगरपालिका र नगरपालिका बनाउने उद्देश्यका साथ हामी हिंडेका छौं ।’

सभामा एमाले नेता, काशिनाथ अधिकारी, नेतृ सीता पौडेल, देवी ज्ञवाली, जगन्नाथ थपलिया, कृष्णभक्त पोखरेल, रामप्रसाद न्यौपाने लगायतले सम्बोधन गरेका थिए । सो अवसरमा भरतपुरमा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले आफ्ना भावी योजनाका बारेमा बताएका थिए । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७