मदिरा उद्योगी र राजस्वका कर्मचारी मिलेर यसरी छल्दैछन् करोडौं राजस्व


२९ आश्विन २०७४, आईतवार
Nepal

काठमाडौं, असोज २९ गते :  भारतबाट अन्तशुल्कका नक्कली स्टीकर छपाई ल्याएर नेपालका मदिरा उद्योगहरूले राजस्व छली गर्दैआएको खुलासा भएको छ । २०७४ भदौ १७ गते बीरगंज भन्सार कार्यालयका जाँचकीले भारतबाट आएको एक ट्रक चेक जाँच गर्ने क्रममा मदिरामा टाँस्ने अन्तशुल्कका नक्कली स्टीकर फेला परेको थियो ।

भन्सारमा यसरी एक ट्रक स्टीकर पक्राउ परेपछि नेपालका मदिरा उद्योगहरूले नक्कली अन्तशुल्क स्टीकर प्रयोग गर्दै आएको कुरालाई पुष्टी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ८६ हजार ४ सय ७० थान नक्कली अन्तशुल्क स्टीकर भारतबाट छापेर ल्याउने हरिओम ट्रेडिङ प्रालिका संचालक कुलप्रसाद राजभण्डारी र उनका सहयोगी प्रकाश घिमिरेलाई पक्राउ गरी भदौ २० गते आन्तरिक राजस्व कार्यालय बीरगंजमा बुझाएको थियो । राजभण्डारी पक्राउपछि थप ४ जना पक्राउ परेका छन् ।

Nepal

नक्कली स्टीकर बरामद भएपछि जाँचकी नै अलमलमा परे । प्रिन्ट सामग्री भनेर ल्याइएको ट्रकमा अन्तशुल्कका स्टीकर फेलापरेको थियो । यसरी विगतमा प्रिन्ट सामगीका नाममा कति नक्कली स्टीकर बरामद भए, त्यसबाट कति अर्ब राजस्व नोक्सान भयो भन्ने कुरा खोजीको विषय हुनु पर्ने हो । विगतमा अन्तशुल्कका कति स्टीकर भित्रिए र ती कुन कुन मदिरा उद्योगले प्रयोग गरी राजस्व नोक्सान पुरायाए भन्ने अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा यो काण्ड गुपचुप पार्ने खेल भइरहेको आशंका गरिएको छ । नक्कली स्टीकर विगतदेखि नै भित्रिएको र आन्तरिक राजस्व विभागका ठूला कर्मचारी र मदिरा उद्योगको मिलेमतो रहेकाले पनि यसमा लहरो तान्दा पहरो नै गर्जिने स्रोतले बताएको छ ।

स्रोतका अनुसार, विगत लामो समयदेखि नै नक्कली स्टीकर भारतमा छपाई गरी नेपाल भित्रिदै आएको छ । नेपालका ठूला मदिरा उद्योगहरूले नक्कली स्टीकर प्रयोग गरी करोडौं करोड रुपैयाँ राजस्व छली गर्दैआएका थिए । जुन कुरा खुल्ने डरले दोषी राजभण्डारी र गुप्ताहरूलाई हतार हतार सीआइबीबाट आन्तरिक राजस्व कार्यालय बीरगंजमा पठाइएको छ ।

अन्तशुल्क ऐनले अन्तशुल्कको स्टीकरको बारेमा अनुसन्धान र कारबाही गर्ने अधिकार अन्तशुल्क अधिकृतलाई दिएको छ । प्रहरीले कीर्तेमा मात्र कारबाही गर्नसक्छ । अन्तशुल्कको कारबाही सकिएपछि सरकारी छाप कीर्तेमा सीआइबीले कारबाही गर्ने प्रतिक्रिया आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीको छ । अन्तशुल्कको नक्कली स्टीकर बरामद भएपछि पक्राउ परेका आरोपीहरू अनुसन्धानको क्रममा छन् । चार जना पक्राउ परिसकेका छन् । अन्तशुल्क अधिकृतले ३ करोड ३९ लाख बिगो भएकाले त्यो बमोजिमको जरिवाना समेत गरी जनही करीब ६ करोड ६८ लाख भन्दा बढी धरौटी तोकेका छन् । महानिर्देशक कार्कीले प्रहरीलाई पनि यो प्रकरणमा छानबिन गर्न आग्रह गरेको बताएका छन् । अन्तशुल्कको पाटोबाट अनुसन्धान सकिएपछि प्रहरीले कीर्तेमा छानबिन गर्नका लागि आग्रह गरेका छौं ।

प्रहरीले अनुसन्धानमा सघाइरहेको छ, महानिर्देशक कार्कीले भने, प्रहरीलाई विभागले नै अनुरोध गरी छानबिन गर्न भनेका हौं, तर अन्तशुल्क स्टीकरमा कानूनले अन्तशुल्क अधिकारीलाई नै अनुसन्धान गर्ने अधिकार दिएको छ । कीर्तेको प्रहरीले हेर्ने हो, अदालतमा मुद्दा दायर गर्ने हो । अन्तशुल्कको बारेमा अन्तशुल्कका अधिकारीलाई अदालतको सरह अधिकार छ । त्यही अन्तर्गत बिगोबमोजिम जरिवाना जोडेर धरौटी तोकेको हो, नियतबस बढी धरौटी तोकेको छैन ।

विगतदेखि नै यसरी नक्कली स्टीकर आएको र त्यो मदिरा उद्योगहरूले नै प्रयोग गर्दैआएको कुरामा दुईमत रहन सक्दैन । यस्तो नक्कली स्टीकर प्रयोग गरी राजस्व मार्ने मदिरा उद्योगहरू छानबिनको दायरामा आउनसक्छन् भन्ने जिज्ञासामा महानिर्देशक कार्कीले भने, ‘हाम्रो मूख्य ध्यान नै यसमा केन्द्रित छ । यसको लिंक के हो, यसभन्दा अघि पनि यसरी भित्र्याएर कहाँ र कसरी प्रयोग भएका थिए, ल्याउनले प्रयोग गर्ने होइन, हामी त्यहाँसम्म पुग्नेगरी अनुसन्धान गर्नेछौं । हामी सतर्क र सजग छौं ।’

महानिर्देशक कार्कीले यसो भने पनि प्रहरीले छानबिन गरेर कुन कुन मदिरा कम्पनीले नक्कली स्टीकर प्रयोग गरेका छन्, कहिलेदेखि नक्कली स्टीकर आइरहेको छ भन्ने कुराबारे केरकार नै गर्न नपाई पक्राउ परेका मूल नाइके राजभण्डारीलाई हतार हतार आन्तरिक राजस्व कार्यालय बीरगंजमा बुझाउने र दोषीलाई थेग्नै नसक्ने गरी धरौटी तोकिएकाले पनि यो प्रंकरण थप रहस्यमय बन्दै गएको छ । सीआइबीका प्रमुख डीआइजी पुस्कर कार्कीले आन्तरिक राजस्व विभागले सपोर्ट मागेकाले पक्राउ गरेर बुझाएको बताएका छन् । उनले भने, ‘राजस्वको कुरा भएकाले उसको अधिकार छानबिन गर्छ । यो छानबिन गर्दै जाँदा करोडौं अरबौं रुपैयाँको केस हुनसक्छ । आन्तरिक राजस्व विभागले सीआइबीको साथ लिएर काम गर्ने भनिसक्नुभएको छ । हामी नक्कली स्टीकरको अनुसन्धान गर्न विभागलाई सहयोग गर्न तयार छौं ।’

मूलनाइके राजभण्डारी पक्राउ परेपछि सीआइबीले नक्कली स्टीकर भित्र्याउन संलग्न देखिएका हिमालयन कार्गोका संचालक विनोदकुमार गुप्तालाई  २०७४ असोज १ गते पक्राउ गरेको थियो । नक्कली स्टीकर भित्र्याएको आरोपमा सीआइबीले पक्राउ गरी गुप्तालाई पनि असोज २ गते नै आन्तरिक राजस्व कार्यालय बीरगंजमै पठाएको छ । गुप्ताको बयानका आधारमा धादिङ धुनीबेसीका राजकुमार भण्डारीलाई २०७४ असोज ४ गते पक्राउ गरी २०७४ असोज ५ मै बीरगंज आन्तरिक राजस्व विभागमा बुझाएको छ ।

-साँघुबाट

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७