भोलि रातिदेखि मौन अवधि, सीमा नाका तीन दिन बन्द हुने

मतदान हुने दिन गाडी चलाउन मापदण्ड


२६ बैशाख २०७९, सोमबार
Nirbachan scaled

काठमाडौं । शुक्रवार हुने स्थानीय निर्वाचनका लागि भोलि (मंगलबार) रातिदेखि मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।

चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त छन् । यस्तै, भोलि मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । भोलि राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ ।

मंगलबार मध्यरातदेखि मतदान हुने दिनको मध्यरातसम्म सीमा बन्द गर्ने निर्वाचन आयोगको निणर्यअनुसार सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । नेपालको भारतसँग करिब १ हजार ८ सय ८० किमि र चीनसँग करिब १ हजार ४ सय १४ किमि लम्बाइको सीमा छ । ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् ।

चीनतर्फका नाका पूर्वअनुमति बेगर आउजाउ गर्न नमिल्ने भएकाले निर्वाचन लक्षित नाका शिल गर्न कठिन छैन । भारतसँग जोडिएका सबै नाका खुला भएका कारण बन्द ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने बाध्यता छ । सीमावर्ती क्षेत्रका बासिन्दा दुवै देश आउजाउ गरिरहन्छन् ।

भारतसँग इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी, धनुषाको जटही, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको मोहना र गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायत दर्जनभन्दा बढी ठूला नाका व्यवस्थापनमा कठिन छैन । तर अरू छोटी भन्सार तथा चेक प्वाइन्ट र सीमा गौंडाबाट लुकीछिपी हुने आउजाउलाई रोक्न चुनौतीपूर्ण छ ।

दक्षिणतर्फका सीमा सुरक्षा र सीमा अपराध रोकथाम तथा नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका २ सय २० बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरीका ६० भन्दा बढी स्थानमा सीमा सुरक्षा चौकी छन् । ‘जस्तोसुकै स्थितिमा पनि निर्वाचन अवधिभर अत्यावश्यक र अनुमतिबाहेक सीमाबाट आवतजावत गर्न नदिन स्पष्ट निर्देशन दिएका छौं,’ गृह प्रवक्ता पोखरेलले भने ।

चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ । चुनावलाई शान्तिपूणर् र मर्यादित बनाउन भन्दै भोलिदेखि जाँड-रक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ ।

आयोगले बिहीबार नै ‘स्थानीय तह सदस्य निर्वाचन-२०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड-२०७९’ जारी गरिसकेको छ, जसमा आयोग र जिल्ला प्रशासन कार्यालयबाट जारी पासबाहेकका गाडी वैशाख ३० का दिन गुडाउन नपाइने उल्लेख छ ।

निर्वाचन आयोगको मापदण्डअनुसार मतदान हुने दिन सवारीसाधनका लागि निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुनेछ । उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतबाट अनुमति लिएर प्रमुख जिल्ला अधिकारीमार्फत पास लिनुपर्नेछ । मानवीय सहायताका लागि प्रजिअबाट समन्वय गरेर सवारी आवागमन व्यवस्थापन गर्न सकिनेछ ।

अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थल जाने र विदेशबाट आउनेका हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा आवागमनका लागि प्रजिअले समन्वय गर्नुपर्नेछ । जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर सहजीकरण गर्नेछ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने सवारी पास निर्वाचन आयोग परिसरको सवारी आवागमन व्यवस्थापन डेस्कबाटै एकीकृत रूपमा वितरण गरिनेछ । त्यसका लागि गृह र जिल्ला प्रशासन काठमाडौंबाट एक-एक जना अधिकृत तहका कर्मचारी खटाइएको छ ।

सवारीसाधनको अनुमतिपत्रका विषयमा सहजीकरण, व्यवस्थापन, अनुगमनका लागि आयोगले प्रशासन महाशाखाका सहसचिवको संयोजकत्वमा गृह मन्त्रालय, सूचना तथा प्रसारण विभाग, आयोगकै योजना अनुगमन तथा वैदेशिक समन्वय शाखाका उपसचिव र शाखा अधिकृत सम्मिलित ५ सदस्यीय समिति गठन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७