सत्ता गठबन्धनको धनगढी र डडेलधुरामा, एमालेको ललितपुरमा चुनावी सभा


२६ बैशाख २०७९, सोमबार
Bipaxi 5 dal

काठमाडौं । स्थानीय चुनावको मौन अवधि शुरु हुनै लाग्दा सत्ता र प्रतिपक्षी दलको चुनावी दौडधूप बढेको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरूले आज (सोमबार) कैलालीको धनगढी र डडेलधुरामा संयुक्त चुनावी सभा गर्दैछन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित सभा गर्न लागिएको हो ।

नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

आज नै प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेलधुरामा पनि चुनावी सभा गरिंदै छ । धनगढीको कार्यक्रम सकेर गठबन्धनका सबै नेताहरू डडेलधुरा जाने कार्यतालिका छ ।
एमालेको ललितपुरमा चुनावी सभा, ओलीले सम्बोधन गर्ने
यसैबीच प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज ललितपुरमा चुनावी सभा गर्दैछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

एमालेका तर्फबाट ललितपुर महानगरपालिकाको प्रमुख पदमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा मञ्जली शाक्य बज्राचार्यले उमेदवारी दिएका छन् । एमालेले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर चुनावी सभा गर्न लागेको हो । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गरेर विभिन्न राजनीतिक पार्टीहरूले प्रचारप्रसार र प्रतिबद्धता जनाउन देशभर विभिन्न कार्यक्रम गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७