ओलीजीले झुटमाथि झुट बोल्नु भयो : कांग्रेस प्रवक्ता

‘वृद्धभत्ता हामीले अघि बढाएको हो, सरदर आयु ७१ वर्ष हुनु उपलब्धी’


२६ बैशाख २०७९, सोमबार
prakash sharan mahat 4cnryYWRqa 1


काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएको छ । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ओलीले झुटमाथि झुट बोलेको आरोप लगाए । आइतबार एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गरी कांग्रेसमाथि प्रहार गरेपछि आज कांग्रेस प्रवक्ताले भने, ‘हामी झुटो राजनीति गर्दैनौं । केपी ओलीजीले हिजो झुटमाथि झुट बोल्नु भयो ।’

ओलीले सरकारमा हुँदा काण्डै काण्ड मच्चाएको भन्दै आफ्नै पार्टीबाट गम्भीर आरोप खेप्नुपरेको कुरा पनि महतले स्मरण गराए । ‘ओलीको पालामा काण्डै काण्ड भए । भनिसाध्य छैन,’ उनले भने, ‘ओलीमाथि आफ्नै पार्टीबाट गम्भीर आरोप सचिवालयमा दर्ज भएको थियो । उहाँले काण्ड नमच्चाएको भए आफ्नै पार्टीबाट गम्भीर आरोप लाग्थ्यो ?’

कोरोनाले मुलुक आक्रान्त हुँदा ओलीको सरकारको ध्यान कमिसनमा केन्द्रित भएको उनको भनाइ छ । ‘कोरोनाले मुलुक आक्रान्त हुँदा ओलीको सरकार कसले बढी कमिसन दिन्छ भनेर कुदिराख्नु भएको थियो । काँग्रेसको सरकार आएपछि खोपको सुनिश्चितता भयो । कोरोना भयावह स्थितिको अन्त्य भएको छ,’ उनले भने ।

ओली सबै कुराले असफल भएर सरकारबाट बाहिरिएको काँग्रेस प्रवक्ता महतको आरोप छ । ‘उहाँले सरकार चलाउन नसकेर दुई दुई पटक हात उठाएपछि काँग्रेसले मुलुक सम्हाल्नुपर्‍यो । उहाँका पार्टीका दुई घटक आए काँग्रेसलाई मुलुक सम्हालिदिनु पर्‍यो भनेर आउनुभयो, उहाँले ठूला कुरा गर्ने ?,’ महतको प्रश्न छ ।

यस्तै केपी ओलीको पालामा ऋण लिएर घ्यु खाने काम भएको उनको भनाइ छ । ‘घ्यु पनि जनतालाई होइन केही समितिले खाए,’ उनले भने, ‘केपी ओली अहिलेसम्म सरकारमा भएको भए नेपाल श्रीलंका भइसक्यो । नेपाललाई श्रीलंका पुराउने ओलीजीको योजना कांग्रेसले असफल पारेको छ ।’

ओली सरकारले बिगारेको अर्थतन्त्र वर्तमान सरकारले सुधारिरहेको उनको दाबी छ । ‘अहिले हाम्रो सरकारले अर्थतन्त्र सुधार गरिरहेको छ । हाम्रो सरकार आएपछि अनुदान आएको आयै छ,’ उनी भन्छन्, ‘अमेरिका, भारत चीन, जापानले पनि अनुदान दिराख्नु भएको छ । नेपाली काँग्रेसको सरकार आएपछि अन्तराष्ट्रिय विश्वासको वातावरण बनेको छ । देश ऋणमुक्त हुने बाटोमा छ ।’

कांग्रेसले गरेको कामको ओलीले जस लिन खोजेको महतको भनाइ छ । ‘काम काँग्रेसले गरेको छ । जस उहाँले लिने ? काम गर्ने कालु मकै खाने भालु ?,’ उनको प्रश्न छ । ओलीले काम होइन ठूला ठूला गफ मात्र गरेको महतले बताए । ‘पानी जहाजको कार्यालय खुल्यो । उहाँको तस्बिर काठमाडौंमा टाँसियो । पानी जहाज आयो त ?,’ उनी भन्छन्, ‘पानी जहाज त कलकत्तामै छ । पूर्व पश्चिम रेल आयो ?’


काँग्रेस सरकारले कुरा होइन काम गर्ने उनको भनाइ छ । कांग्रेसले अब ६५ वर्षदेखि नै वृद्ध भत्ता दिने प्रतिबद्धता जनाएको उनले सुनाए । ‘सरदर आयु ७१ वर्ष छ । विपन्न समुदायका मान्छेको सदर आयु ७१ वर्ष छैन । उनीहरु वृद्धभत्ताबाट बन्चित छन् । त्यसैले हामीले ६५ वर्षमा वृद्ध भत्ता दिने प्रतिवद्धता छ ’ हामीले सुत्केरी सत्तास्वरुप ५ हजार दिने काँग्रेसको प्रतिबद्धता रहेको प्रवक्ता महतले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७