‘नेकपा (बहुमत)’ ले भन्यो, ‘विप्लव संसदवादमा फसेकाले नयाँ पार्टी गठन गर्‍यौं’


२६ बैशाख २०७९, सोमबार
biplab

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ लाई संसदवादमा फसेको आरोप लगाउँदै असन्तुष्ट पक्षका नेताहरूले नयाँ पार्टी गठन गरेका छन् । नयाँ पार्टी गठनसँगै चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रूपमा फुटेको छ । पार्टीमा असन्तुष्टका धर्मेन्द्र बास्तोला नयाँ पार्टीको संयोजक चयन भएका छन् ।

बास्तोलाले आज (सोमबार) पत्रकार सम्मेलन गरेर नयाँ पार्टी गठन भएको औपचारिक जानकारी दिएका छन् । उनले नयाँ पार्टीको नाम ‘नेकपा (बहुमत)’ रहेको जानकारी गराए । नयाँ पार्टीको नेतृत्व पनि बास्तोलाले नै गर्ने भएका छन् । ‘तत्कालीन महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा संसद्वादमा फसिकाले पार्टी पुनर्गठन गरेका हौं’ बास्तोलाले भने । उनले आफूहरूमाथि आर्थिक अनियमिताको गलत आरोप लगाइएको समेत बताएका छन् ।

गत चैतमा भएको केन्द्रीय समिति बैठकको निणर्य विपरीत चन्द गएपछि नयाँ पार्टी गठन गर्नुको विकल्प नभएको बास्तोलाले बताएका छन् । उनले भने, ‘पार्टी चुनावमा नजाने भएपछि पनि प्रवक्ता पार्टी चुनावमा जाने, पार्टी दर्ताको प्रयास गर्ने, चुनावमा केन्द्रीय समिति सदस्य उठाउने र उठाउन प्रयत्न गर्ने काम भयो । पार्टी नीति बाहिर चुनावमा उठाउने र कतिपय केन्द्रीय समिति सदस्यहरू त एमालेको चुनाव चिह्न लिएर चुनावमा जान लालायित भएपछि यसरी समय बर्बाद गर्नु ठीक हुँदैन भनेर भेला गर्‍यौं र बहुमत पार्टी सदस्यले नेकपा बहुमत भनेर पुनर्गठन गरेका छौं ।’

बास्तोलाले विचार र संगठनात्मक रूपमा बहुमत आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । उनले पार्टीको कार्यदिशा र कार्यक्रमबारे पनि जानकारी गराएका छन् । उनले भने, ‘पार्टीको मूल कार्यदिशा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने कार्यदिशा पूरा गर्नका निम्ति कार्यनीतिका रूपमा अहिले स्वाधिन संयुक्त सरकार, राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, समृद्धि र स्वाधिनताको नारा अगाडि सारेका छौं ।’

मुलुकमा राजनीतिक स्थिरताका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका निर्वाचित हुनुपर्ने माग रहेको बास्तोलाको भनाइ थियो । धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा नेकपाका असन्तुष्ट पक्षले चितवनमा राष्ट्रिय भेला गरेको थियो । सोही भेलाले नै नयाँ पार्टी गठन गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७