धाँधली गर्न सक्छन्, बाकस एकछिन आँखाबाट ओझेल हुन दिनु हुन्न : ओली

मेरो विचार बुझ्ने बुद्धिजीवि नेपालमा छैनन्’


२६ बैशाख २०७९, सोमबार
Kp oli chitwan

कास्की । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाँधली हुनसक्ने आशंका व्यक्त गरेका छन् । कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन नहुने बताए । एमाले शान्तिको पक्षमा रहेको र शान्तिपूणर् ढंगले जनताले दिएको मतको पक्षमा रहेको उल्लेख गर्दै ओलीले नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क समेत गर्न नहुने बताए ।

उनले पाँच दलीय गठबन्धन भोटले जित्ने नभइ मतपत्र च्यात्ने, चपाउने र निल्ने रणनीतिमा रहेको जिकिर पनि गरे । ‘के के गर्न सकिन्छ, नचाहिने जति त्यही त्यही गर्छन् । सिन्धुपाल्चोकको सभामा एउटा माओवादीको नेताको भाषण युट्युवमा छ । सबै अस्त्र प्रयोग गर्ने, कब्जा गर्ने र आफ्ना मान्छेलाई मात्रै प्रवेश गराएर जसरी पनि जित्ने भनेर भाषण गरेको छ’, ओलीले भने, ‘हामी शान्तिको पक्षमा छौँ । शान्तिपूणर् ढंगले जनताले दिएको मतको पक्षमा छौँ । कसैले शान्ति सुव्यवस्थामा खलल पार्न खोज्छ भने बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन ।’

‘मेरो विचार बुझ्ने बुद्धिजीवि नेपालमा छैनन्’
अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीविहरूप्रति आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष ओलीले भने, ‘मेरो विचारलाई बुझ्ने बुद्धिजीवि नै छैनन् । मैले राखेको राष्ट्र निर्माणको विचारलाई उखान टुक्का भन्छन् । कांग्रेसले नेता-कार्यकर्ताले त मेरो विचार बुझ्ने हैसियत नै राख्दैनन् ठिकै छ तर बुद्धिजीविहरूले त बुझ्न पर्‍यो नि ? त्यसैले मैले उनीहरूलाई सो कोल्ड बुद्धिजीवि भन्ने गरेको छु ।’

गठबन्धनले निर्वाचनमा धाँधली गराउनका लागि कसरत गरिरहेको आरोप लगाउँदै ओलीले शान्तिपूर्ण निर्वाचन गराउनका लागि निर्वाचन आयोग र प्रहरी प्रशासनसँग आग्रह गरे । ओलीले कार्यक्रममा पाँच दलीय गठबन्धन देशको कलङ्क भएको आरोप पनि लगाए । कार्यक्रममा गठबन्धनप्रति आक्रामक बन्दै ओलीले गठबन्धनको महानगर सभालाई वडा सम्मेलनसम्म तुलना गर्न पनि भ्याए । उनले कार्यकर्तालाई उत्साहित पार्दै चुनावमा विजयी गरिसकेको घोषणा गर्दै चुनावको दिनसम्म एमालेका उम्मेदवारलाई जिताउन प्रचारप्रसारमा लाग्न आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७