कांग्रेस कार्यकर्ता परियारको हत्यास्थलमा भेटियो गोलीका खोका


२६ बैशाख २०७९, सोमबार
kamatoli goli 2782020101416 1000x0 1

चितवन । चितवनको भरतपुरमा कांग्रेस कार्यकर्ता अनिल परियारको हत्या भएको स्थलमा गोलीका खोका भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीका अनुसार घटनास्थलमा गोलीका दुई वटा खोका फेला परेको हो । उनको हत्या छुरा प्रहारबाट भएको देखिए पनि घटनास्थलमा गोलीका खोका फेला परेको हो । पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने एसपी अधिकारीले बताएका छन् ।

‘गोलीका दुई वटा खोका पनि भेटिएको छ । यसबारे हामी अनुसन्धान गर्दैछौं’, एसपी अधिकारीले भने, ‘उनलाई गोली प्रहार भएको हो कि होइन भन्ने पोष्टमार्टमपछि खुल्ने छ ।’

यसैबीच हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धतापछि आफन्त पोष्टमार्टम गर्न सहमत भएका छन् । शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गर्दै बिहान कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

सहमतिपछि अनिलको शव चितवन मेडिकल कलेजबाट निकालेर भरतपुर अस्पताल लगिएको छ । भरतपुर-१२ मिलनचोकका परियारको आइतबार साँझ भरतपुर महानगरपालिका-७ स्थित कृष्णपुर खेल मैदान नजिकै अज्ञात समूहले हत्या गरेको थियो । हत्यामा २/३ जना संलग्न रहेको प्रहरीले जनाएको छ । तर उनीहरुको बारेमा केही खुलाएको छैन ।

भारतीयको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ । परियार भारत आउजाउ गरिरहने र उनका भारतीय साथीहरु पनि रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । केही व्यक्तिको बारेमा जानकारी आएको र थप अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए । यसैबीच आफ्ना कार्यकर्ताको हत्यामा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउन नेपाली कांग्रेस चितवनले सोमबार विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७