माधव नेपाललाई ओलीको चेतावनी : को सकिन्छ ३० वैशाखपछि थाहा हुन्छ

‘सत्ता गठबन्धन धोत्रो पसेको रुख हो, छिटै ढल्छ’


२६ बैशाख २०७९, सोमबार
kp oli81652088890

पोखरा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने चेतावनी दिएका छन् ।

आइतबार पोखरामा सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए । सोमबार पोखरामै एमालेले गरेको आमसभामा अध्यक्ष ओलीले नेता नेपाललाई जवाफ दिंदै को खत्तम भएछ भन्ने निर्वाचनपछि थाहा हुने बताए ।

‘एमालेको १५ वर्ष रस चुसेर, एमालेको काँधमा चढेर एमालेको बुइ चढेर २१ महिना प्रधनमन्त्री भएका एक जना मान्छे भन्दै थिए एमाले सिध्याउनै पर्छ । कांग्रेसलाई धम्क्याउँदै थिए, केपी ओली समाप्त भए रे’ उनले भने, ‘वैशाख ३० गतेको परिणाम आएपछि को सकिएछ, को खत्तम भएछ जनताले बताउँछ ।’
‘सत्ता गठबन्धन धोत्रो पसेको रुखहो, छिटै ढल्छ’
अध्यक्ष ओलीले सत्ता गठबन्धन अब धेरै दिन नटिक्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले जनतालाई धम्काउँदै, तर्साउँदै हिंडिरहेकाले गठबन्धन अब धेरै दिन नटिक्ने दाबी गरेका हुन् । उनले गठबन्धन धोत्रो पसेको रुख जस्तै भएको र छिटै ढल्ने टिप्पणी गरे ।

अहिले मुलुकमा राष्ट्रियताको रक्षा गर्ने एमाले एकातिर र मुद्दा जित्दै सरकारमा बसेर मुलुक बिगार्नेहरू अर्कोतर्फ भएकाले जनताले उचित फैसला गर्ने उनको भनाइ छ । कुनै उद्देश्य नभएका दलहरूको गठबन्धनको ध्येय देश बनाउने मजबुद पार्टी एमालेलाई कमजोर बनाउनु मात्र रहेको उनको जिकिर थियो । आफ्नो पार्टीले निर्वाचन जिते युवालाई मलेसिया पठाउने र नजिते बजेट रोक्ने धम्कीले कांग्रेसको नीति स्पष्ट भएको उनले बताए । अध्यक्ष ओलीले देशको राष्ट्रिय हितका लागि बनेको पार्टी एमाले नै भएको भन्दै जनताले एमालेलाई विश्वास गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७