‘पाँच वर्षमा इलामलाई आहा ! भन्ने बनाउँछु’ (अन्तर्वार्ता)


२६ बैशाख २०७९, सोमबार
dhiren chemjong Ilam scaled

यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट मेयरको उम्मेदवार बनेका धीरेन चेम्जोङ इलाम नगरपालिकाबासीका लागि परिचय गराइरहनुपर्ने नाम होइन । बाल्यकालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय भएर मात्र होइन, इलामको पत्रकारितालाई फलाउने, फूलाउनेदेखि यहाँको फुटबललाई हजारौं युवाको ढुकढुकी बनाउने अभियानको अग्र मोर्चामा सधैं धीरेन चेम्जोङकै नाम आउँछ ।

हक्की र आँटिलो स्वभाव, स्पष्ट बोली र विविध क्षेत्रको नेतृत्वदायी पात्रका रूपमा धीरेन चेम्जोङ प्रायः इलाम नगरबासीको आँखा अगाडि झुल्किरहेको हुन्छन् र उनको आवाज इलामेका कानमा अक्सर गुुञ्जिरहेकै हुन्छ । विविध पृष्ठभूमिलाई आधार बनाएर उनी अहिले इलाम नगरको मेयरको प्रत्यासी छन् । प्रस्तुत छ, चेम्जोङसँग आउँदो निर्वाचनमा केन्द्रित रहेर गरिएको कुराकानी :

राजनीति, पत्रकारिता र खेलकुदको पृष्ठभूमिबाट आफूलाई इलाम नगरपालिकाको मेयरमा उम्मेदवारी दिने ठाउँमा पुर्‍याउनु भयो, तपाईको उम्मेदवारी चाहि किन ?

पहिलो कुरा चाहिँ म एउटा भुइँमान्छे हुँ । म यहींको माटोसँग खेलें । माटोसँगै हुर्किएँ । यहाँका जरा, बुट्टा, खोलानालासँग परिचित भएँ । सबै जातजाति, धर्म, संस्कृति, परम्परा, सम्प्रदायलगायत सबैखाले मान्छेसँग घुलमिल हुन पाएँ । सबैसँगको सम्बन्ध प्रगाढ बन्यो । सबैले अहिलेसम्म गर्नुभएको माया मेरो उम्मेदवारीको आधार हो । इलामको माटोले के मागिरहेको छ भन्ने पनि मैले स्पष्ट बुझ्न पाएको छु । इलाम नगरका सबै ठाउँ पुगेको छु । सबैजसो धेरैजसो घरलाई सेल्टरका रूपमा प्रयोग पनि गरेको छु । त्यसैले त्यहाँका समस्या के हुन्, आवश्यकता र अवसर के हन् भन्ने मलाई थाहा छ । २०५४ र २०७४ सालमा इलाम नगरमा हाम्रै पार्टीका नेता महेश बस्नेत नेतृत्वमा रहेको जनप्रतिनिधिको टिमले नगरको एउटा मार्गचित्र कोरेको छ । त्यसबेला नगरमा विकास-निर्माणको जुन मोडालिटी अघि सारिएको छ, त्यसले चाहँदा त विकास हुँदोरहेछ भन्ने मानिसलाई आशा जगाएको छ । म त्यसैलाई निरन्तरता दिन्छु र थप नयाँ अवधारणामा काम गर्छु ।

नगरका सम्भावना उजागर गर्न कस्ता योजना र कार्यक्रम ल्याउनु भएको छ ?

मैले लिखित प्रतिबद्धता पत्रमार्फत् नै आफ्नो र पार्टीको योजना सार्वजनिक गरेको छु । विशेष गरी इलामका चार सम्भावना कषि-पशुपालन, शिक्षा, स्वास्थ्य र पर्यटन हुन् । यसबाहेक पनि दर्जनौं क्षेत्रमा काम गर्नुपर्नेछ । ‘इलाम नगरपालिका हाम्रो पहिचान, समृद्ध इलामका लागि सूर्य चिह्नमा मतदान’ भन्ने नारासहित इलामको समृद्धिमा सबै पक्षलाई समेटेर हामीले प्रतिबद्धता-पत्र सार्वजनिक गरेका छौं । मतदाताको मत राष्ट्रियताको रक्षा, लोकतन्त्रको अभ्यास एवम् इलाम नगरपालिकाको विकास र समृद्धिका लागि होस् भन्ने हाम्रो कामना छ । समग्रमा नगरलाई ५ वर्षपछि ‘आहा !’ भन्नेखालको बनाउने हो । अबको ५ वर्षमा समृद्ध इलाम, सुखी इलामबासीको आधार तयार भएको हुनेछ ।

तपाईले ल्याउनु भएका योजना कार्यान्वयनमा चुनाती चाहिँ छन् कि छैनन् ?
चुनौती नहुने त कुरै भएन । जहाँ नयाँ काम गर्न खोजिन्छ, चुनौती ठडिइहाल्छन् । जब तपाई सपना देख्नु हुन्छ भने तपाई ब्युँझिनु पनि हुन्छ । ब्युँझिनु चाहिँ सपना टुट्नु हो । तर, मैले देखेको सपना निद्रामा देखेको होइन, ननिदाएका बेला देखेको हो । त्यसैले आएका चुनौती सामना गर्ने बलियो हिम्मत पनि छ । मैले आजसम्म यो नगरका नागरिकमा जति भिज्न सकेको छु, त्यो नै मेरो चुनौती सामना गर्ने बल हो । प्रत्येकजसो घरको पानी खाएको छु । सबैसँग जोडिएको छु । नागरिकको माग र आवश्यकता प्रायः स्वभाविक नै हुन्छन् । तिनलाई पूरा गर्न पनि समस्या हुँदैन । तर, नागरिकका आवश्यकता र समस्याको समाधान गर्ने तरिका चाहिँ अलि नपुगेको मलाई लाग्छ । त्यो तरिका पुग्यो भने चुनौती समाधान भइहाल्छन् । आवश्यक परे विज्ञको समेत सहयोग लिएर समस्या समाधानको मोडालिटी बनाइन्छ ।

स्थानीय तह तथा त्यसअन्तर्गतका कतिपय कार्यालय आर्थिक र राजनीतिक हिसाबले पनि आलोचित भइरहेका छन् । विभिन्न किसिमका विकृति देखिन थालेको चर्चा हुन्छ, यसलाई हटाउन कस्तो योजना बनाउनु भएको छ ?

स्थानीय तह भनेको स्थानीय सरकार हो । २०७४ सालमा स्थानीय तह गठन हुँदा त्यो सरकार हिँड्ने स्पष्ट बाटो थिएन । कानुन, विधि, विधान आफैं बनाउनुपर्ने अवस्था थियो । तत्काल त्यो सरकारले आफू हिंड्ने बाटो (कानुन) बनायो । समय धेरै त्यहाँ गयो । त्यति हुँदा पनि इलाम नगरमा विकास-निर्माण सामाजिक सुधारका काम नभएका होइनन् । कतिपय अवस्थामा अनुगमनको कमी हुँदा विकृति देखिएका हुनसक्छन् । अब हामी हिंड्ने बाटो बनेको छ । त्यही बाटो भएर हामी नागरिकको घरदैलोसम्म पुग्न सक्ने भएका छौं । सुशासन, पारदर्शिता र जबाफदेहिताप्रति चनाखो भएर अघि बढ्न हामी सधैं चिन्तनशील छौं । अबको कार्यकाल भनेकै धेरैभन्दा धेरै नागरिको आवाज सुन्ने र समस्या समाधानमा केन्द्रित हुनेमा ढुक्क हुन आग्रह छ ।

स्थानीय सरकार सञ्चालन गर्ने एउटा मूल कडी आर्थिक स्रोतको व्यवस्थापन गर्नसक्नु हो । त्यसको ठोस योजना के छ ?

आर्थिक स्रोतको व्यवस्थापन सरकार सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण पाटो हो । सरकार सञ्चालनको मेरुदण्ड नै हो । स्रोत नहुँदा चल्न सकिंदैन । स्थानीय सरकार सञ्चालनका लागि केन्द्रबाट आउने स्रोतको मात्रै भर पर्ने अवस्था छैन । हामीले कुनै न कुनै सिर्जनशील काम गर्नेपर्ने हुन्छ । नगरको आर्थिक स्रोतका प्रकार अध्ययन गर्नेछौं । जुन आवश्यक छ, त्यसको जिम्मेवारी मात्र नागरिकलाई दिनेछौं । नागरिकलाई करको भारबाट बचाउन वैकल्पिक स्रोत व्यवस्थापन गर्नु आवश्यक छ । वैकल्पिक स्रोत खोजेर भए पनि नागरिकलाई भारी करबाट चाहिँ मुक्ति दिनु मेरो कर्तव्य हो । अहिलेको आवश्यकता पनि हो । करको दर नभई दायरा फराकिलो बनाउन सकिन्छ । तर, म फेरि भन्छु, करको वैकल्पिक स्रोत खोजेर भए पनि उच्च दरको कर घटाउने र अनावश्यक कर हटाउने योजना चाहिँ छ ।

२०७४ सालको स्थानीय तह निर्वाचन हुँदा ‘गाउँ-गाउँमा सिंहदरबार’ आएको चर्चा धेरै चल्यो । नेपालको संविधान (२०७२) को मर्मअनुसारको काम र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को यात्रा बितेको ५ वर्षमा स्थानीय तहले कति प्रतिशत पार गरेका
ठान्नु हुन्छ ?

संघीयताको कारणले अधिकार विकेन्द्रित भएको साँचो हो । सिंहदरबार गाउँ आएको पनि हो । नागरिकले गाउँमै, टोलमै र घर घरमै अधिकार पाउने भएकाले प्रतीकात्मक रूपमा सिंहदरबार गाउँ त आएकै हो । तर, सिंहदरबारलाई सिंहदबारका रूपमा बनाउन पनि त स्थानीय तहले काम गर्न बाँकी नै थियो नि ! कानुन, प्रक्रिया, पद्धति निर्माण गर्दागर्दै धेरै समय बितेको छ । यसबीचमा ‘दरबार’ चाहिँ उतै रह्यो, ‘सिंह’ मात्रै गाउँ आए भन्ने आलोचना पनि भयो । अबको अवस्था त्यस्तो छैन, अधिकार स्थापित गर्ने बाटो बनेको छ । हामी नागरिकका अधिकार नागरिकसम्म नै अवस्य पुर्‍याउने छौं । यो मेरो प्रतिबद्धता हो । समृद्ध नेपाल सुखी नेपालीको यात्रउपलब्धिलाई मैले प्रतिशतमा ढालेर विश्लेषण गर्नु अन्याय हुन्छ । समग्रमा विकास, परिवर्तन भएको छ ।

असीमित आवश्यकतालाई सीमित स्रोत-साधनले धान्नु चुनौतीपूर्ण छ । तर, व्यवस्थापनका सही तरिका अपनाइयो भने समाधान हुन्छन् । तत्काल परिवर्तन, रुपान्तरणको आमअपेक्षा स्वभाविक पनि हो । अहिले विश्वव्यापीकरणले संसारका परिर्वतन हामी एकैछिनमा देख्न, सुन्न र अनुभूत गर्न सक्छौं । यो सन्दर्भमा नेपालको, इलामको माटोसँग मिल्दो परिवर्तन यात्रालाई सुहाउँदो गति दिनलाई केहीले छेक्छ जस्तो चाहिँ लाग्दैन । सर्वसाधारणका कतिपय काम प्रत्यक्ष र वास्तविक रूपमा सत्य भएको आँखाले देख्दा देख्दै पनि कागजले अड्काउने समस्याले सेवाग्राही आजित भएको देख्छु म । कमसेकम पनि त्यस्ता सेवाग्राहीलाई न्याय दिनु मेरो प्राथमिकता हुनेछ । जब भुइँमान्छे मुस्कुराउँछन्, हाँस्छन् र खुुश हुन्छन् । समृद्धि भनेको त्यही हो । समृद्धि त्यहींबाट उदाउने हो ।

पत्रकारिताका पर्याय, फुटबलका ढुकढुकी

आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट मेयरको उम्मेदवार छन् धीरेन चेम्जोङ । पत्रकारिता, खेलकुद लगायत विविध सामाजिक क्षेत्रमा आफ्नो योग्यता र क्षमता प्रदर्शन गरी कहलिएका चेम्जोङ पार्टीभित्र र बाहिर पनि सशक्त र ऊर्जाशील नेताका रूपमा चिनिन्छन् ।

इलाम नगरपालिकाको साविक वडा-२, फूलगाछीमा जन्मिएका धीरेन चेम्जोङको बाल्यकाल पढाइ, राजनीति र खेलमा बित्यो । उनी १३ वर्षकै उमेरमा नेकपा (माले) को रेडगार्ड (बाल सैन्य दस्ता) मा आबद्ध भए । पार्टीका भूमिगत नेताहरूलाई सरकारी दमनबाट बचाउन त्यतिबेला बाल दस्ता प्रयोग गरिन्थ्यो । उनले त्यतिबेलैदेखि उनको संगत कम्युनिस्टका भूमिगत नेताहरूसँग भयो । यहीक्रममा १४ वर्षको उमेरमा उनलाई प्रहरीले पक्रियो । बालक भएका कारण प्रहरीले धेरै समय नियन्त्रणमा राख्न चाहिँ सकेन । केहीपछि उनी अखिल नेपाल राष्टिूय स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भए ।

त्यतिबेला यस्तो संगठनमा आबद्ध हुनुलाई सरकारले ‘ अराष्ट्रिय तत्व’ भन्थ्यो । तर, उनले हार खाएनन् । न्यायको स्वर बुलन्द गर्न उनी निरन्तर लागिरहे । क्याम्पसमा पनि अनेरास्ववियुका नेता-कार्यकर्तासँग उनको भेट र सहकार्य भयो । इलामको बजारमा जम्मिएर अनेरास्ववियुमा लाग्दा उनलाई घरमा बास पाउन समेत सहज थिएन । बारम्बार जेलनेल र घरी घरी सर्वसाधारणका घर पुग्नेक्रम चलिरह्यो । सहिद रत्नकुमार बान्तवाको हत्यापछि पार्टी सम्हाल्न जनशक्ति कम हुँदै थियो । त्यहीबेला विद्यार्थीमार्फत् पार्टीलाई जीवन दिन धीरेन, हीरा थापा, छवि खनालहरू नै सक्रिय थिए ।

तर, उनीहरू सबै प्रहरीको ‘वारेन्ट’ सूचीमा थिए । ‘तर, हामी गाउँले दाजु-भाइ, दिदी-बहिनी भेट्न, उहाँहरूको घर-घर पुग्न छाडेनौं,’ उनले भने, ‘जेल पर्‍यो, निस्कियो, गाउँ कुदिहाल्यो गथ्र्यौं ।’यही क्रममा उनलाई पार्टीले नै महेन्द्ररत्न बहुमुखी क्याम्पसको जागिरे बनायो । उनलाई जागिरे बनाउनुको उद्देश्य सरकारी दमनबाट केही सुरक्षित गर्दै पार्टीको काम गर्नलाई नै थियो ।

क्याम्पसमा जागिरे रहेकै बेला उनी इलामको पत्रकारितामा प्रवेश गरे । सुरुमा दृष्टि साप्ताहिक त्यसपछि जनआस्था साप्ताहिकमा काम गरे । इलाममा पनि सूूत्रधारश्री साप्ताहिक स्थापना गरेर धर्म गौतम, धीरेन चेम्जोङहरूले नै बसालेको जगमा अहिले इलामको पत्रकारिता खुड्किलो चढिरहेको छ । त्यसपछि पनि उनीसहितको समूहले इलाममा लोकतन्त्र साप्ताहिकलगायत पत्रपत्रिका प्रकाशन गरे । उनी त्यसयता नेपाल पत्रकार महासंघ इलाम शाखाको दुई कार्यकाल लगातार सभापति बने । र, महासंघको केन्द्रीय सदस्य समेत भए ।

‘२०४६ सालको परिवर्तनपछि शासक, प्रशासकसँग जुध्ने बलियो माध्यम कलम वा पत्रकारिता नै हुन्छ भन्ने भएपछि म पत्रकारितामा होमिएँ,’ उनले सुनाए, ‘मेरो स्वभाव नै अन्याय, अत्याचार र भुइँमान्छेको पीडा सहन सक्ने खालको छैन । त्यसैले पत्रकारितामा होमिएको थिएँ ।’ त्यतिबेला मिसन पत्रकारिता गरेको र कलमको माध्यमबाट अन्याय अत्याचारविरुद्ध राज्यद्रोह नै गरेको उनी सम्झन्छन् ।

‘देशमा पञ्चायती तानाशाह उन्मूलन हुनुुपर्छ र सामन्तवादको प्रतीकका रूपमा रहेको राजसंस्था उखेलेर फाल्नु पर्छ भन्ने ध्येय थियो,’ उनले भने, ‘त्यही कामका लागि पत्रकारितालाई माध्यम बनाइएको थियो ।’ साहित्यिक रूपमा पत्रकारिताबाट दबाब सिर्जना गर्न धीरेन चेम्जोङ, डम्बर पहाडी र नरेन्द्रनाथ भट्टराईलगायतले ‘प्रतिज्ञा’ साप्ताहिक पत्रिका निकालेका थिए । तर, आर्थिक हिसाबले त्यसले निरन्तरता पाउन सकेन । धीरेनलगायतकै पत्रकारहरूको पहलमा पछि ‘झटारो’ का रूपमा प्रकाशन भएको सूत्रधारश्री साप्ताहिकलाई परिवर्तनको संवाहकका रूपमा अहिले पनि इलामका पाठकले सम्झिन्छन् । यसमा आफूसहित धर्म गौतम, सोमनाथ सुुसेली, माधव घिमिरे, विजशेखर भट्टराई, आशिष राईलगायतको सहकार्य रहेको उनी सम्झिन्छन् ।

दृष्टिमा समाचार प्रकाशन भएपछि करिब १५ दिन चाहिँ समाचार लेख्ने पत्रकारले भूमिगत हुनुपर्ने अवस्था थियो । ‘त्यतिबेला पत्रकारिताले सिर्जना गरेको जनआवाज र दबाबले नै अहिलेको राजनीतिक उपलब्धि हासिल गरेको हो छर्लङ्ग छ,’ उनले भने, ‘त्यही भएर मलाई पत्रकारिताप्रति गर्व लाग्छ ।’ विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका कारण उनले पढाइलाई निरन्तरता दिन सकेनन् । प्रहरी-प्रशासनको आँखाबाट जोगिएर भए पनि स्कुल कलेज त गए तर आफूमाथिको ‘वारेन्ट’ का कारण परीक्षा दिन सजिलो हुँदैनथ्यो ।

‘अरू बेला स्कुल पुगेर पढेको थाहा नपाए पनि परीक्षाको दिन चाहिँ पक्कै भूमिगत विद्यार्थी नेता आउँछन् भन्ने भएर प्रहरीले निगरानी गथ्र्यो,’ उनले भने, ‘कलेजको पढाइ पनि त्यस्तै अन्योलको बन्यो तर पढ्न भने छाडिएन ।’ कलेजको परीक्षा फाराम आफैंले भर्न नपाउँदा आफ्नो नाम र थर गल्ती भएर ११ खालको भएको पनि उनी स्मरण गर्छन् ।

चेम्जोङ माइभ्याली फुटबल क्लबको अध्यक्ष पनि हुन् । उनको जीवनमा फुटबल एक महत्वपूर्ण पाटो भएको छ । अगुवा खेलाडीहरूले प्रतियोगिता जितेर छरेको चकलेट टिप्दै खाँदा बाल्यकालमै उनीमा फुटबलप्रतिको क्रेज बढ्यो । परिणामस्वरूप, उनीसहितका खेलाडीको टिम त्यतिबेला चर्चित कमल, महावीर, रणवीर सिल्डहरू आफ्नो पोल्टामा पार्न सफल भए । चेम्जोङकै अगुवाईमा माइभ्याली फुटबल क्लबले देश र विदेशका चर्चित ए डिभिजन क्लब सहभागी गराएर लगातार छैटौं संस्करणका प्रतियोगिता सञ्चालन गरेको छ ।

‘टुँडिखेलमा भोगटेको बल खेल्दा खेल्दै म फुटबल खेलाडी बनेंछु, मेची अञ्चलस्तरका प्रतियोगितामा सहभागी भएर अहिले माइभ्यालीको अध्यक्षसम्म आइपुग्दा हजारौं इलामे खेलप्रेमीसँग जोडिन पाएको छु,’ उनले भने, ‘फुटबलको माध्यमबाट अन्य विधा खेलको पनि समस्या, चुनौती र अवसर थाहा पाउने मौका मिलेको छ । हजारौं युवाको बीचमा आफूलाई उभ्याएर उनीहरूसँग यात्रा गर्न पाएकामा हर्ष लाग्छ ।’

माइभ्याली क्लब स्थापनाको उद्देश्य चाहिँ जिल्लाका गाउँ गाउँमा छरिएका खेलाडीको प्रतिभा उजागर गर्ने नै भएको र यसले निरन्तरता पाउने उनी सुनाउँछन् । निडर, साहसी र स्पष्टवक्ताका रूपमा चिनिने चेम्जोङले इलाम नगरलाई आफ्नो नेतृत्वमा पाँच वर्षपछि ‘आहा !’ भनेर चिनाउने खालको बनाउने लक्ष्य लिएका छन् । भन्छन्, ‘इलाम नगरपालिकाका लागि आउँदो पाँच वर्षको मेरो सपना निद्रामा देखेको सपना होइन, बिहान उठेपछि देखेको हो । त्यसैले त्यो सपना पूरा गर्न दृढ संकल्प गर्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७