चुनावका दिन पानी पर्ने सम्भावनाप्रति आयोग ‘चिन्तित’


२६ बैशाख २०७९, सोमबार
Nirbachan scaled

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिनमा पानी पर्ने सम्भावना भएकाले सुरक्षित तरिकाले मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पानी पर्ने सम्भावना रहेको जानकारी पाएको र त्यसप्रति आयोग चिन्तित रहेको बताए ।
‘मौसमका सम्बन्धमा हामी पनि चिन्तित छौं । आज मात्रै गृह मन्त्रालयमा मौसम विभागको कर्मचारीले प्रेजेन्टेसन गरेको पनि हामीले हेरेर आयौं । उहाँको प्रस्तुतिअनुसार ३० गते पनि पानी पर्ने सम्भावना छ’, सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसैका कारण ७५३ ठाउँमा आयोगबाट सामग्री किनेर पठाउने सकिने अवस्था छैन । त्यसैले सामान्य प्रशासन मन्त्रालयबाट सक्षम स्थानीय तहलाई आवश्यक व्यवस्था गर्न भनेका छौं ।’

सबै पालिकामा विपद् व्यवस्थापन कोष भएकाले विपद् व्यवस्थापनसँग सम्बन्धित सामग्रीको प्रयोग गरेर मतदानस्थल र सामग्री सुरक्षित गर्न आग्रह गरेको उनले बताए । निर्वाचन आयोगले मतदान र मत गणनास्थललाई वर्षाको पानीबाट जोगाउन पालको व्यवस्था गर्न सबै पालिकालाई आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमानअनुसार चुनावको दिन देशभर पानी पर्ने भएपछि आयोगले पालको व्यवस्था गर्न आग्रह गरेको हो ।

‘वर्षाको पानीबाट मतदान कार्य र मतगणना प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल, त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्नका लागि सबै पालिकाले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमार्फत निर्देशन दिने निणर्य भएको छ’, प्रवक्ता शालिग्राम पौडेलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७