गुल्मीमा माओवादी नेता कांग्रेस कार्यकर्ताबाट कुटिए

मकवानपुरमा पनि कांग्रेस र माओवादी कार्यकर्ताबीच कुटाकुट


२६ बैशाख २०७९, सोमबार
thumb 6

गुल्मी । स्थानीय तह निर्वाचनको प्रचार प्रसारका क्रममा गुल्मीमा माओवादी केन्द्रका नेता कांग्रेसका कार्यकर्ताबाट कुटिएका छन् । कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा आइतबार राति कांग्रेस कार्यकर्ता गोपाल थापाको समूहले माओवादी केन्द्र कालिगण्डकीका अध्यक्ष लीलबहादुर केसी ‘संजय’ लाई कुटपिट गरेको बताइएको छ ।

कुटपिट गर्ने थापा कालिगण्डकी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा अहिले अध्यक्ष पदका उम्मेदवार बेदबहादुर थापाका भाइ हुन् । अनुहारमा चोट लागेर घाइते भएका केसीको गुल्मी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मध्य राति करिब १२ बजेतिर समीक्षा बैठक सकेर घरतर्फ फर्कदै गर्दा थापाले एक्कासी मोटरसाइकलको हेल्मेटले टाउकोमा हानेको केसीले बताएका छन् । ‘एक्कासी हेल्मेटले टाउकोमा हानेपछि म बेहोस भएर ढलेछु’, उनले भने, ‘त्यसपछि के-के भयो मलाई थाहा भएन ।’ केसीको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

नेपाली कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले भने दुई पक्षबीच सामान्य भनभन भइ धकेल्दा केसीलाई सामान्य चोट लागेको बताए । दुई पक्ष बसेर समस्याको समाधान गर्न आफूले पहल गर्ने उनको भनाइ छ । भट्टराई कालीगण्डकी गाउँपालिकाको नेपाली कांग्रेस निर्वाचन परिचालनमा खटिएका छन् । कालिगण्डकीमा नेकपा एमाले र माओवादीबीच गठबन्धन भएपछि नेपाली कांग्रेस असन्तुष्ट छ ।

नेपाली कांग्रेस र जनमोर्चा पनि गठबन्धन गरेर चुनावी मैदानमा छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले गए राति कुटपिट भएको भन्ने खबर प्राप्त भएकोले इलाका प्रहरी कार्यालय रिडीको प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

मकवानपुरमा पनि कांग्रेस र माओवादी कार्यकर्ताबीच कुटाकुट
मकवानपुरको बकैया गाउँपालिकामा कांग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका-७ कत्लेखोलामा दुई पार्टीका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

कांग्रेस निकट रामबहादुर राईले २०-२५ जना कार्यकर्ता परिचालन गरी माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँकमिटी उपाध्यक्ष हरि राईलाई निर्घात कुटपिट गरेको माओवादीको आरोप छ । घाइते दुई जनाको हेटौंडा चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७