एसियाली खेलकुदका लागि सुदूरका कुस्तीका सात खेलाडी छनोट


२७ बैशाख २०७९, मंगलवार
kusti

कञ्चनपुर । १९ औं एसियाली खेलकुदका लागि कुस्तीतर्फ सुदूरपश्चिम प्रदेशका सात खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । सुदूरपश्चिम प्रदेशको नौवटा जिल्लामध्ये कञ्चनपुरको महेन्द्रनगरमा मात्रै कुस्तीको नियमित प्रशिक्षण हुँदै आएको छ ।

कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्तीको इतिहासमै पहिलो पटक सात जना खेलाडी एसियालीका लागि प्रारम्भिक चरणमा छनोट हुनु सुदूरपश्चिमका लागि गौरवको विषय भएको बताए । उनका अनुसार एसियाली खेलकुदको पूर्वतयारीका लागि बन्द प्रशिक्षणअघि काठमाडौंमा प्रारम्भिक छनोट सकिएको छ ।

जसमा पुरुषतर्फ ७४ केजी तौल समूहमा यहाँका सुरेश चुनारा, महिलातर्फ शिवाङ्गी दुबे, मनिसा सिंह र अम्बिका भण्डारी ५७ किलो तौल समूहमा छनोटमा परेका छन् । त्यसैगरी ६२ किलो तौल समूहमा निर्मला जाग्री, कोमल खत्री र बिमला सुनार छनोटमा परेको प्रशिक्षक चन्दको भनाइ छ ।

सुदूरपश्चिमबाट यसअघि चार वर्षअघि सुरेश चुनाराले मात्रै एसियाली खेलकुद प्रतियोगितामा भाग लिएका थिए । आगामी भदौमा चीनमा हुने एसियाली खेलकुदमा सुरेशसँगै ६ जना यहाँका महिला खेलाडी सहभागी हुन प्रारम्भिक चरण पार गरेका छन् ।

प्रशिक्षक चन्दका अनुसार बिमला, मनिषा र कोमल कञ्चनपुरबाट कुस्ती खेल्छन् भने सुरेश, निर्मला र शिवाङ्गी दुबे त्रिभुवन आर्मी क्लबसित आबद्ध छन् । त्यस्तै, अम्बिका भण्डारी सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध छिन् । जेठमा हुने बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितापछि एसियाली खेलकुदको बन्द प्रशिक्षण हुने भनिएको छ ।

‘कुस्तीतर्फ परिणामले पनि हेर्ने हो भने सुदूरपश्चिम उर्वरभूमि नै हो’, प्रशिक्षक चन्दले भने, ‘तर विडम्बना न यहाँ कुस्तीको हल छ नत, खेल सामग्री नै ।’ अभावका बीच खेलाडीहरूको खेलप्रतिको लगन र मिहेनतले उनीहरू एसियालीसम्म पुगेको उनको भनाइ छ ।
एसियाली खेलकुदको अनुभव बटुलिसकेका कुस्ती खेलाडी सुरेश चुनाराले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न आफू नियमित प्रशिक्षणमा रहेको बताए । ‘यसअघि पनि एसियाली सहभागिताले धेरै सिक्ने मौका मिलेको थियो’, चुनाराले भने, ‘अब राष्ट्रियपछि हुने बन्द प्रशिक्षणमा कडा मेहनत गरेर अघि बढ्छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७