२९ मतदान केन्द्रमा मतपत्रसहित सामग्री पुग्यो


२७ बैशाख २०७९, मंगलवार
MD Morang 26a scaled

तनहुँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँका २९ मतदान केन्द्रमा मतपत्रसहित सामग्री पुगेको छ । देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र भिमाद नगरपालिकाका २९ मतदान केन्द्रमा मतपत्रसहितका सामग्री पुगेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँका सहायक निर्वाचन अधिकृत कृष्ण गौतमले भौगोलिक दूरीले टाढा रहेका मतदान केन्द्रमा आज मतपत्रका साथ सामग्रीसहित कर्मचारी पुगेको जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र अन्य ६१ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयबाट उपलब्ध गराइएको छ ।

दश वटा पालिकाका २९७ मतदान केन्द्रमध्ये बाँकी मतदान केन्द्रमा भोलि सामग्री प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र बुझेर आएका कर्मचारीलाई सामग्री वितरण थालिएको कार्यालय प्रमुख ढकालले जानकारी दिए ।

नियुक्तिपत्रलाई अनलाइन सफ्टवेयरमा प्रविष्ट गरेपछि आवश्यक सामग्री प्रदान गरिने उनले बताए । कार्यालयबाट ६१ प्रकारका सामग्री वितरण गरिएको छ । मतपेटिका, परिचयपत्र, लाहाछाप, स्ट्याम्पलगायतका सामग्री निर्वाचन कार्यालयबाट उपलब्ध गराइएको छ ।

निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रसम्म लैजाने व्यवस्था मिलाइएको छ । मतदान केन्द्रमा खटिने सबै कर्मचारी वैशाख २७ गते बेलुकासम्म सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नु पर्नेछ । मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माण लगायतका काम हुनेछन् ।

निर्वाचनमा खटिने एक हजार ४८५ मध्ये ८९१ कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति र तलबभत्ता उपलब्ध गराइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए ।

जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी दुई हजार ३७६ जनशक्ति परिचालन गरिनेछ । निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन हुनेछन् । त्यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिएको छ ।

तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७