ऊर्जामन्त्रीसँग जापानका राजदूतको शिष्टाचार भेट, जापानको नेपाल नीति हस्तान्तरण


२७ बैशाख २०७९, मंगलवार
pampa japan NECw1wS9jH

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि जापानका राजदूत किकुता याताकाले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच नेपाल-जापान सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा मन्त्री भुसालले जापान सरकारको समेत सहयोगमा निर्माण भएको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको सुक्खायाममा हुने ऊर्जा सङ्कट समाधानका लागि महत्वपूर्ण रहेको बताइन् । उनले भनिन्, ‘कुलेखानी जस्तै अन्य जलाशययुक्त आयोजनामा जापानको सहयोग रहने विश्वास लिएको छु ।’

ऊर्जा सुरक्षाका लागि नेपालले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री भुसालले महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको जापान सरकारले आगामी दिनमा ऊर्जा सुरक्षामा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

भौगोलिक विविधता र अव्यवस्थित मानव बसोबासका कारण देशका सबै नागरिकलाई स्वच्छ पानी पुर्‍याउन समस्या भएको बताउँदै मन्त्री भुसालले भूकम्प र जलवायु परिवर्तनको असरका कारण मानव बस्ती नजिकको पानीको मुहान सुक्दै गएको बताइन् । हरेक नेपालीलाई स्वच्छ खानेपानी र गुणस्तरीय ऊर्जा पुर्‍याउन सरकार लागिपरेको उल्लेख गर्दै उनले त्यस्ता कार्यक्रम सफल तुल्याउन जापान सरकारको सहयोग रहने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा राजदूत किकुताले परिमार्जित ‘जापानको नेपाल नीति’ हस्तान्तरण गरे । सन् २०१५ मा भूकम्प गएपछि पुनः निर्माणमा केन्द्रित गरेको जापानको नीति आगामी दिनमा ऊर्जा विकासमा लक्षित रहने उनले जानकारी गराए । राजदूत किकुताले कुलेखानी जलविद्युत् आयोजना निर्माणमा जापानले सहयोग गरेको र तनहुँ हाइड्रोमा पनि सहयोग गरिरहेको जानकारी गराए । उनले गत अप्रिलमा जापानको कुमामोतो सहरमा सम्पन्न चौथो एसिया-प्रशान्त क्षेत्रीय पानी सम्मेलनलाई ‘भर्चुअयल’ विधिमार्फत सम्बोधन गरेकोमा मन्त्री भुसाललाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७