किन धमाधम दुबई भागिरहेका छन् रुसी अर्बपतिहरू ?


२७ बैशाख २०७९, मंगलवार
russian billionares fleeing to duabi 1652108663

काठमाडौं । यतिबेला रुसका धनाढ्यहरूका लागि दुबई प्रमुख गन्तव्य बनेको छ । युक्रेन युद्धका कारण रुसमाथि जारी प्रतिबन्धबाट बच्न रुसी अर्बपतिहरू दुबई भाग्ने क्रम बढेको छ ।

बिजनेस लिडर्सले बीबीसीसँग बताए अनुसार रुसका धनी वर्गमा पर्ने व्यक्तिहरू उल्लेखनीय रूपमा धमाधम युएई प्रवेश गरिरहेका छन् । यति मात्र नभएर २०२२ को पहिलो तीन महिनामा रुसीहरूले दुबई मा सम्पत्ति खरिद गर्ने दर पनि ६७ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

युएईले अहिलेसम्म रुसमाथि कुनै प्रतिबन्ध लगाएको छैन र युक्रेनमा जारी आक्रामणको आलोचना पनि गरेको छैन भने पश्चिमी राष्ट्रहरू भन्दा विपरीत सबै रुसी नागरिकहरूलाई भिसा दिइरहेको छ ।

स्पष्ट तथ्यांक उपलब्ध नभएपनि हजरौंको मानिसले रुस छाडेकाबारे यसअघि पनि खबर गरिएको थियो । एक रुसी अर्थविद्ले बताएअनुसार युद्ध सुरु भएको दश दिनमै २ लाख बढी रुसी नागरिकले देश छाडेका थिए । यसमा पनि विशेषगरी बौद्धिक क्षमतावान्हरूले देश छाड्ने क्रम बढ्दा रुसले ठूलो स्तरमा ‘ब्रेनड्रेन’ (बौद्धिक पलायन)को सामना गरिरहेको बताइएको छ ।

र, यसमा रुस छाडेर जानेहरूको प्रमुख गन्तव्यमा दुबई परेको स्पष्ट देखिएको छ । दुबई मा कम्पनी स्थापना गर्न मद्दत गर्ने भिर्चुजोनका प्रमुख जर्ज होजे भन्छन्, ‘युद्ध सुरु भएयता हामीले पाँच गुणा बढी रुसी ग्राहक पाइरहेका छौं । उनीहरू सबै आगामी आर्थिक क्षतिबारे चिन्तित छन् । त्यसकारण आफ्ना सबै सम्पति सुरक्षित राख्न दुबई मा बसाइँ सरिरहेका छन् ।’
यसरी रुसी धनाढ्यहरूको व्यपाक चहलपहलले दुबई मा लक्जरी भिला र महँगा अपार्टमेन्टहरूको माग पनि ठूलो मात्रामा वृद्धि गराएको छ । घरजग्गा सम्बन्धी व्यसायीहरूले बताए अनुसार यसले युएईभर सम्पत्तिको भाउ पनि बढाइ दिएको छ ।

रुसी ग्राहकको चाप बढेसँगै व्यवसायीहरूले रुसी भाषा बोल्ने धेरैलाई रोजगारी दिन थालेको पनि बताएका छन् । रुसीहरूले दुबई मा लगानीका लागि मात्र सम्पत्ति खरिद नगरेर त्यस ठाउँलाई वास्तवमै आफ्नो दोस्रो घर समान दर्जा दिइरहेको व्यवसायीहरू बताउँछन् ।

यति मात्र नभएर रुसमा चर्चित कतिपय कम्पनीहरूले आफ्ना सम्पूणर् कर्मचारी सहित युएईमा कार्यालय स्थापित गराइरहेका छन् । वीवे भन्ने प्राविधिक कम्पनीका मालिक फड फटुलेभ युक्रेनमा युद्ध सुरु भएपछि सयौँका सङ्ख्यामा कर्मचारीहरूसँग दुबई बसाइँ सरेका हुन् ।

फड भन्छन्, ‘युद्धले हाम्रो व्यवसायमा वास्तवमै भयानक प्रभाव पार्यो । त्यसैले हामीले रुसमा कारोबार जारी राख्न सकेनौँ र सयौँ मानिसलाई रुस र युक्रेनबाट दुबई ल्याएका हौं ।’ युएईमा एकदम सुरक्षित आर्थिक तथा राजनीतिक वातावरण भएकाले नै आफूहरूको पहिलो छनोटमा परेको उनको भनाइ छ ।

त्यस्तै ग्लोबल फर्महरू : गोल्डमन स्याक्स, जेपी मोर्गन र गुगलले पनि रुसमा आफ्ना अफिस बन्द गराइ कर्मचारीहरू दुबई मा स्थानान्तरण गराइरहेका छन् । फड भन्छन्, ‘पक्कै पनि रुसमा ब्रेनड्रेन भइरहेको छ । व्यवसायिक अवरोधका कारण धेरै मानिसहरू देश छाडेर बाहिरिरहेका छन् ।’ बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७