स्थानीय निर्वाचन : आज रातिदेखि ७२ घण्टा अन्तर्राष्ट्रिय सीमा नाका बन्द

नेपालका ४२ जिल्ला जोडिएका छन् भारत र चीनसँग


२७ बैशाख २०७९, मंगलवार
jamunaha naka
फाइल फोटो

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सरकारले चीन र भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा क्षेत्र आज (मंगलबार) रातिदेखि ‘शिल’ गर्दैछ । आज मध्यरातिदेखि सीमाबाट हुने आवागमन ७२ घण्टाका लागि बन्द गर्न लागिएको हो ।

आज मध्यरातदेखि मतदान हुने दिनको मध्यरातसम्म सीमा बन्द गर्ने निर्वाचन आयोगको निणर्यअनुसार सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । नेपालको भारतसँग करिब १,८८० किमि र चीनसँग करिब १,४१४ किमि लम्बाइको सीमा छ ।

४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । चीनतर्फका नाका पूर्व अनुमति बेगर आउजाउ गर्न नमिल्ने भएकाले निर्वाचन लक्षित नाका शिल गर्न कठिन छैन । भारतसँग जोडिएका सबै नाका खुला भएका कारण बन्द ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गर्नुपर्ने बाध्यता छ । सीमावर्ती क्षेत्रका बासिन्दा दुवै देश आउजाउ गरिरहन्छन् ।

भारतसँग इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी, धनुषाको जटही, पर्साको वीरगञ्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको मोहना र गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायत दर्जनभन्दा बढी ठूला नाका व्यवस्थापनमा कठिन छैन । तर अरू छोटी भन्सार तथा चेक प्वाइन्ट र सीमा गौंडाबाट लुकीछिपी हुने आउजाउलाई रोक्न चुनौतीपूर्ण छ ।

दक्षिणतर्फका सीमा सुरक्षा र सीमा अपराध रोकथाम तथा नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका २२० बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरीका ६० भन्दा बढी स्थानमा सीमा सुरक्षा चौकी छन् । मतदानअघिको मौन अवधिमा चुनावसँग जोडिएका कुनै पनि गतिविधि गर्न नपाइने आचारसंहिता कडाइका साथ पालना गराउन पनि स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७