चुनाव प्रचारको अन्तिम दिन आज : दलका शीर्ष नेता गृह जिल्ला केन्द्रित

ओली अचानक झापामा, देउवालाई डडेल्धुरा छाडेर प्रचण्ड पुगे मधेस


२७ बैशाख २०७९, मंगलवार
oli deuwa prachanda madhav


काठमाडौं ।
स्थानीय तह निर्वाचनको आज (मंगलबार) चुनावको अन्तिम दिन दलका शीर्ष नेता गृह जिल्ला केन्द्रित भएका छन् । आज मध्यरातिबाट मौन अवधि शुरु हुँदैछ । त्यसपछि चुनाव प्रचार प्रसारका कुनै पनि गतिविधि गर्न पाइँदैन । चुनावी प्रचारका लागि आज अन्तिम दिन उम्मेदवारहरूलाई मत माग्ने चटारो छ ।

मौन अवधि शुरु हुन केही घण्टा मात्रै बाँकी रहेका बेला पाँच दलीय गठबन्धन र प्रमुख विपक्षी नेकपा एमालेसहित अन्य दलका शीर्ष नेताहरू चुनावी अभियानको दौडाहामा छन् । शीर्ष नेताहरू चुनावी नतिजा पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् ।

चुनावी अभियानकै क्रममा सत्ता गठबन्धनलाई चुनौति दिइरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ अचानक गृह जिल्ला झापा पुगेका छन् । दिउँसो पोखरा लगायतका ठाउँमा चुनावी सभालाई सम्बोधन गरेका ओली साँझ अचानक झापा पुगेका हुन् ।

ओलीले आज झापासहित मोरङका सभालाई सम्बोधन गर्ने तालिका छ । उनी आजै काठमाडौं फर्केर यहाँको जिल्ला कमिटीले आयोजना गर्ने सभामा सम्बोधन गर्ने कार्यक्रम छ । एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयोजना गर्दैछ । दिउँसो २ बजे हुने सभालाई ओलीसहितका नेताहरूले सम्बोधन गर्न लागेका हुन् ।

यस्तै प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगेका छन् । देउवाले आज डडेल्धुरामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी ३० गते मतदान गरेर मात्र काठमाडौं फर्किने तालिका छ । सोमबार उनले धनगढीको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

धनगढीबाट डडेल्धुरा उक्लेका देउवाले सोमबार साँझ नै गन्यापधुरामा सम्बोधन गरेका थिए । त्यसक्रममा उनले कांग्रेसको कारबाहीमा परेका नेता कर्ण मल्लप्रति आक्रोश पोखेका थिए । ‘आफूपछिको नेता बनाउँछु भनेको त केपी ओलीको चाकडी गर्न गएछ’, सभालाई सम्बोधन गर्दै देउवाले भनेका थिए, ‘यिनीहरू कहाँबाट परिचालित छन् भन्न पनि लाज लागेको छ ।’

सत्ता गठबन्धनले देशभरका प्रमुख शहरमा चुनावी आमसभा गर्ने पूर्व घोषित कार्यक्रम अनुसार आज डडेल्धुरामा सभा हुन लागेको हो । सभामा देउवासहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । तर सत्ता गठबन्धनका शीर्ष नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डडेल्धुरामा सम्बोधन गर्ने छैनन् ।

देउवालाई सुदूरपश्चिम छाडेर प्रचण्ड आज मधेस झरेका छन् । यसअघि काठमाडौं, पोखरा भरतपुर लगायतका स्थानमा गठबन्धनले आयोजना गरेको चुनावी सभामा देउवा-प्रचण्ड सँगै थिए । मधेसका बारा, सर्लाही, महोत्तरी र रौतहटका विभिन्न ठाउँमा हुने सभालाई प्रचण्डले सम्बोधन गर्ने तालिका रहेको उनको सचिवालयले जनाएको छ । सोमबार प्रचण्ड पश्चिम नेपालमा केन्द्रित थिए ।

उनले एकैदिन कैलाली, कञ्चनपुर, डोटी तथा कालीकोट लगायतका जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आज विभिन्न स्थानमा सम्बोधन गर्ने कार्यक्रम छ । जसपा, राप्रपालगायत अन्य साना दलका नेताहरू पनि प्रचार गर्न पाइने अन्तिम दिन दौडधुपमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७