स्थानीय तह निर्वाचन संविधान कार्यान्वयनमा अर्को इँटा थप्ने काम : देउवा

पार्टीका उम्मेदवारलाई विजयी गराउन गरे अपिल


२७ बैशाख २०७९, मंगलवार
deuwa ktm sabha scaled


काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका नेता-कार्यकर्तालाई सार्वजनिक अपिल गरेका छन् । आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै देउवाले स्थानीय तह निर्वाचनमा सक्रियताका साथ सहभागी हुन आग्रह गरेका छन् ।

स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार भएको भन्दै देउवाले आफ्ना प्रतिनिधि चयनमा सहभागी हुन आग्रह गरेका छन् । ‘वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर हाम्रो ऐतिहासिक पार्टी नेपाली कांग्रेसका उम्मेदवारहरूलाई अत्याधिक मतले विजयी बनाउनु हुन हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्, ‘स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार हो । स्थानीय तह संघीय शासन प्रणालीको आधारस्तम्भ पनि हो । हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र पनि हो । नेपाली कांग्रेसको नेतृत्वमा दशकौंसम्म भएका लोकतान्त्रिक संघर्षको अविराम यात्राका थुप्रै आरोह, अवरोह र चुनौति पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफैं बनाउने अवसर प्राप्त गरेका छन् ।’

नेपालमा सामाजिक र आर्थिक आन्दोलन कांग्रेसकै अगुवाइमा भएको देउवाको दावी छ । उनले नेपालका हरेक राजनीतिक आन्दोलन र त्यसको सफलतामा निर्णायक भूमिका निर्वाह गर्दै आएको कांग्रेसले संविधानको रक्षा गर्नुपर्ने बताएका छन् । ‘नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधान सभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक-पटक संसद् विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दै गर्दा नेपाली कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम तपाईं हाम्रा सामु छर्लङ्ग छ,’ सत्तारुढ गठबन्धनबारे उनले भनेका छन्, ‘यहि परिवेशमा पाँच दलीय गठबन्धन बनेको र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनु पर्ने अवस्थाबारे तपाईं हामी सबै जानकार नै छौं ।’

कांग्रेस राष्ट्रिय संकल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना-ज्ञान र प्रविधिका जानकार जनशक्ति र राजनीतिक एवं शासकीय स्थिरताका लागि प्रतिबद्ध रहेको देउवको भनाइ छ । उनले आफू नेतृत्वको सरकारबारे भनेका छन्, ‘नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ । सन्तुलित विदेश नीतिका कारण अन्तर्राष्ट्रिय समुदाय माझ भरोसा र विश्वास बढेको छ । संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेका छन् । भ्रष्टाचारलाई निरुत्साहित गर्दै सु-शासनका पक्षमा उल्लेखनीय काम भइरहेका छन् ।’

स्थानीय तह निर्वाचन संविधान कार्यान्वयनमा अर्को इँटा थप्ने काम भएको देउवाले बताएका छन् । उनले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगमा निर्वाचन सम्पन्न हुने लागेको भन्दै मतदाताको हातमा लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि सुसंस्कारयुक्त राजनीतिक बागडोरको जिम्मा लगाउने अधिकार आएको देउवाको भनाइ छ । उनले कार्यकर्ताहरूलाई अपील गरेका छन्, ‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’, ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो । यो विश्वासका साथ ‘रूख’ चिह्नमा मतदान गरी नेपाली कांग्रेसका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराउनु हुन हार्दिक अपील गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७