प्रदेश-१ मा निर्वाचनको अन्तिम तयारी : सीमा नाका ‘शिल’, गाडी र मानिसको आवागमन बन्द


२८ बैशाख २०७९, बुधबार
Jogbani Naka11652248451


मोरङ । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश-१ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका सबै प्रबन्ध मिलाएको जनाएका छन् ।

जिल्लामा शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका प्रमुख जिल्ला अधिकारीले यो समयमा विशेष भूमिका निर्वाह गरिरहेका छन् । प्रदेश-मा कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १३७ प्रमुख, १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष तथा चार हजार ६२८ वडा सदस्य निर्वाचित हुने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

नेपालको संविधान २०७२ जारी भएपछि भएको यो स्थानीय तह निर्वाचन दोस्रो हो । राजनीतिक दलहरुले मौन अवधि सुरु हुनुभन्दा अगावै प्रचारप्रसार, चुनावी सभा, घरदैलो कार्यक्रम, भेटघाट, र्‍याली, कोणसभा जस्ता कार्यक्रम सम्पन्न गरेका छन् । प्रचार प्रसारका कार्यहरु नभएको भए पनि यतिखेर मुलुक निर्वाचनमय भएको छ ।

निर्वाचनलाई भयरहित, स्वतन्त्र, निष्पक्ष एवं धाँधलीरहित तुल्याउन प्रमुख जिल्ला अधिकारीले आ-आफ्ना जिल्लाको भूगोल, जनसङख्या, मतदान केन्द्र र मतदानस्थलको वास्तविकतामा उभिएर सुरक्षा व्यवस्थापन मिलएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन ।

उनीहरुले सुरक्षाका लागि जिल्लाको वस्तुस्थितिलाई मिहिन ढङ्गले अध्यायन गरेर निर्वाचनमा सुरक्षा प्रबन्ध गरेको खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । खोटाङमा पुरुष ७५ हजार छ र महिला ६८ हजार ७४६ गरी एक लाख ४३ हजार ७५२ जनाका लागि १३६ मतदानस्थल र १९४ केन्द्र तोकिएको छ ।

निर्वाचनको खटनमा नेपाल प्रहरीका ७००, सशस्त्र प्रहरीका २३२, म्यादी प्रहरी एक हजार ८७ जना र कर्मचारी एक हजार ३० जना परिचालन भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । उनले यस जिल्लामा ५८ स्थान संवेदनशील र ३५ स्थान अतिसंवेदनशील पहिचान गरी निर्वाचनमा सुरक्षाको उचित एवं मजबुत प्रबन्ध मिलाएकोले कुनै पनि अप्रिय घटना हुने सम्भावना न्यून रहेको बताए ।

मोरङमा पुरुष तीन लाख ६३ हजार ४४८, महिला तीन लाख ५१ हजार ७६९, अन्य छ गरी जम्मा सात लाख १५ हजार २२३ मतदाताका लागि ३०० मतदानस्थल र ८२० मतदान केन्द्र कायम भएको छ । मोरङमा नेपाल प्रहरीका एक हजार ९७२, सशस्त्रका ६८६, म्यादी तीन हजार १२४ गरी कुल १३ हजार ६७ जना राष्ट्रसेवक कर्मचारी परिचालन भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

उनले तीन घेरमा सुरक्षा निकाय परिचालन भएको, पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेनाको टोली बस्ने भएकाले कुनै पनि घटना हुन नदिने बताए । यस्तै झापामा पुरुष तीन लाख २१ हजार ५२०, महिला तीन लाख २४ हजार ७०५ र अन्य नौ गरी जम्मा छ लाख ४५ हजार २३४ मतदाता, २८६ मतदान स्थल र ७५५ मतदान केन्द्र छन् । झापामा निर्वाचनका लागि नेपाल प्रहरीका एक हजार ९००, सशस्त्र प्रहरीका ७५५, म्यादी प्रहरी दुई हजार ९१६ र राष्ट्रसेवक कर्मचारी तीन हजार ८०० खटिएको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।

उनले निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सतर्कता पनि अपनाएको बताए । सुनसरीमा पुरुष दुई लाख ६९ हजार १४६, महिला दुई लाख ७५ हजार ७१७ र अन्य दुई गरी जम्मा पाँच लाख ३४ हजार ७६५ मतदाताका लागि १६६ मतदानस्थल र ५८१ मतदान केन्द्र निर्धारण भएको छ । निर्वाचनका लागि यहाँ नेपाल प्रहरीका एक हजार १६६, सशस्त्र प्रहरीका ५१२, म्यादी प्रहरी दुई हजार ६८ र कर्मचारी दुई हजार ९०५ जना खटिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

निर्वाचनको अहिलेसम्मको स्थिति हेर्दा निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास उनले व्यक्त गरे । यसैगरी, उदयपुरमा पुरुष एक लाख १२ हजार ८८५, महिला एक लाख १० हजार २५१ र अन्य दुई गरी दुई लाख २३ हजार ३८ जनाले ९८ मतदानस्थल र २५८ मतदान केन्द्र प्रयोग गर्ने भएका छन् ।

यहाँ पनि केही स्थान संवेदनशील र अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । उनले निर्वाचनमा सबै सुरक्षाको चाँजोपाजो मिलाइएको बताए । यहाँ म्यादी प्रहरी एक हजार पाँच जना परिचालन भएका छन् । निर्वाचनलाई उत्साहमय बनाउन तथा स्वतन्त्र, भयरहित, निष्पक्ष एवं मितव्ययी बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखले मतदानस्थल र मतदान केन्द्रको अनुगमन एवं निरीक्षण गरी सुरक्षाका सबै उपाय अवलम्बन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर-१ का प्रमुख सीमा नाका ‘शिल’ गरिएको छ । नाका शिल गरिएसँगै भारतबाट नेपाल र नेपालबाट भारततर्फ आउजाउ बन्द भएको छ । मालवाहक सवारीसाधनको आवागमन पनि आज बिहानैबाट बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार इलामका सीमा नाका गए राति नै शिल गरिएको हो । राति १२ बजेदेखि भारतसँग सीमाना जोडिएका इलामका नाकाबाट आउजाउ बन्द भएको छ । प्रशासनले जिल्लाभर मदिराको बिक्री-वितरण, ओसारपसार र प्रयोगमा समेत रोक लगाएको छ । इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सूचना प्रकाशन गर्दै जिल्लाका सबै अन्तर्राष्ट्रिय नाकाहरू मंगलबार रातिदेखि शुक्रबार राति १२ बजेसम्म बन्द गरिएको जनाएका छन् ।

प्रशासनले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ मा भएको व्यवस्थाअनुसार जिल्लाका सबै क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री-वितरण तथा सेवनमा पूर्ण रोक लगाएको हो । निर्देशिका अनुसार मौन अवधिमा मादकपदार्थको बिक्री-वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । यस्तै, विराटनगरको जोगबनी नाका पनि बिहानैदेखि बन्द गरिएको छ । भन्सार क्षेत्र भएर हुने मालवाहक सवारीसाधनको आउजाउ बन्द भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

मोरङको ६३ किलोमिटर नेपाल-भारत सीमा क्षेत्रमा २६ वटा नाका छन् । मोरङ र सुनसरीतर्फका साना नाकाहरू कुवाडी, मटेरुवा, गडेरिया, भेडियारी, भुटाहा, डुमरिया, खयरवाना, धनपति, मिर्चियाडांगी सोराभाग, चोप्राहा, भान्टाबारी नाकालगायत नाका पनि सिल गरिएको छ । साना नाकाबाट हुने मानिसको आउजाउ समेत पूर्ण रूपमा बन्द भएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना प्रकाशित गरी शुक्रबार राति १२ बजेसम्म सीमा नाका बन्द गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन अवधिभर दुवै देशका नागरिक आउन-जान नपाइने बताए । विराटनगर भन्सार कार्यालय भएर दैनिक ३०० मालवाहक गाडी आउजाउ गर्ने गर्छन् । झापाको काँकडभिट्टासहित छोटी भन्सार कार्यालय र अरू नाकाहरू समेत शिल गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७