चीनले आफ्ना नागरिकलाई भन्यो-नेपाल भम्रणमा स्थलमार्ग प्रयोग नगर्नू


२९ बैशाख २०७९, बिहीबार
tourist

काठमाडौं । चीनले स्थल नाका प्रयोग गरेर नेपाल भ्रमणमा नजान आफ्नो देशका नागरिकलाई सचेत गराएको छ । कोरोना महामारीयता नेपाल-चीन व्यापारिक नाकाहरू आंशिक मात्रै खुलिरहेका बेला पर्यटकीय प्रयोजनका लागि स्थलमार्ग प्रयोग नगर्न चीनले सचेत गराएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार जारी गरेको यात्रा सुरक्षाबारेको सूचनामा यस्तो कुरा उल्लेख भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । नेपाल-चीन अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङका अलावा तातोपानी र फुलान नाका कोरोना महामारीयता मानवीय आउजाउका लागि प्रयोगमा नरहेको चीनले जनाएको छ । सूचनामा भनिएको छ, ‘कोभिड-१९ प्रकोपका बेला नेपाल र चिनियाँ सरकारको नियम अनुसार सबै बन्दरगाहका प्रवेश तथा निकासका च्यानलहरू बन्द गरिएको छ र आवतजावतमा कडाइका साथ प्रतिबन्ध लगाइएको छ ।’

आफ्ना नागरिक लक्षित सूचनामा चीनले महामारीको समयमा महामारी प्रतिरोधी सुरक्षा व्यवस्था अपनाउन र अनावश्यक यात्रा नगर्न पनि चेतावनी दिएको छ । नेपालस्थित चिनियाँ दूतावासले नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई प्राकृतिक प्रकोपबाट समेत सावधान रहन सुझाएको छ । जारी सुरक्षा सचेतनामा नेपाल बिस्तारै वर्षायाममा प्रवेश गरेकाले विगतमा धेरै बाढी, पहिरोका अलावा सडक भत्किने जस्ता भौगर्भिक प्रकोपजन्य खतराहरू भएकोतर्फ ध्यानाकर्षण गराइएको छ । नेपाली पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको हिस्सा भारतपछि दोस्रो नम्बरमा पर्छ । तर विगत दुई वर्षदेखिको कोरोना महामारीले पर्यटकीय आवागमन घटेको छ ।

नेपालस्थित चिनियाँ दूतावासले नेपालमा रहेका चिनियाँ नागरिक र संस्थाहरू लक्षित यो पछिल्लो सतर्कतामा स्थानीय मौसमको अवस्थालाई ध्यान दिन, सुरक्षित र भरपर्दो यात्राका साधनहरू छनोट गर्न, तल्लो क्षेत्रमा रातभरी नबस्न र अनुमति बिना नदीमा पौडी नखेल्न, वर्षायामका निर्माण संरचनामा ध्यान दिन सतर्क गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७