भोट दिन जाँदा के-के कुरामा ध्यान दिने ?


२०७९ बैशाख ३० शुक्रबार ०७:५५ बजे

काठमाडौं । देशभर पालिका जनप्रतिनिधि चुन्न आज (शुक्रबार) मतदान हुँदैछ । अहिलेसम्म निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् ।

भोट दिन जाँदा आफ्नो परिचय खुल्ने कागजात लिएर जान निर्वाचन आयोगले अनुरोध गरेको छ । मतदाता नामावलीमा नाम भएका मतदाताहरुले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनीपुर्जाको सक्कल प्रमाणपत्रमध्ये कुनै एक लिएर जान आयोगको अनुरोध छ ।

मतदान केन्द्रमा होहल्ला गर्न पनि पाइँदैन । यस्तै मतदान केन्द्रमा मतदानको लागि आउने अशक्त, वृद्ध, सुत्केरीलाई आवश्यक सहयोग गर्नुपर्छ । मतदान गर्न जाँदा मोबाइल, क्यामेरा तथा फोटो खिच्ने कुनै उपकरण वा सामग्री साथमा लिएर जान हुँदैन । जाँडरक्सी खाएर गएकाले पनि भोट दिन पाउँदैनन् । सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु पनि नलैजान आयोगले भनेको छ ।

मतदान केन्द्रमा जाँदा मास्क लगाएर जानुपर्छ । मतदान गर्न जानुअघि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने, मतदानस्थलमा होहल्ला नगर्ने, कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा सङ्केत भएको पहिरन, परिचयपत्र र ब्याज लगाउन नहुने आयोगले जनाएको छ ।

त्यस्तै मतदानको दिन गाडी प्रयोग गरी आउजाउ गर्न नहुने, अर्काका नामबाट मतदान गर्न नहुने, एकभन्दा बढी पटक मतदान गर्न नहुने, मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न नपाइने उल्लेख छ । मतदानका बेला मतपत्र सार्वजनिक गर्न, फोटो खिच्न पनि प्रतिबन्ध लगाइएको छ ।

कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्को मतदाताका नाममा मतदान गर्न मतपत्र लिन आए उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ । छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैयाँसम्म जरिबाना गर्न पाउने अधिकार मतदान अधिकृतलाई दिइएको छ ।

मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मात्रै जान पाउने छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७