सत्यमोहन जोशीले गरेनन् मतदान, आज १०३ औं जन्मदिन मनाउँदै

काठमाडौं । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ औं जन्मदिन शुक्रबार परिवारिक रुपमा मात्र मनाइने भएको छ ।
स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिएका छन् ।
जोशीले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने उनले बताए । केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि जोशीलाई समय-समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको छोरा हेमन्तले जानकारी दिए । जोशी अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको उनले बताए । जोशीले मतदान गोप्य हुनुपर्ने भएकाले परिवारको सहयोगमा मतदान गर्न नचाहेको बताएका छन् ।