‘जितेपछि उम्मेदवारले सात तला माथिबाटै चिन्दिन भन्छन्’


३० बैशाख २०७९, शुक्रबार

काठमाडौं । ‘भोट माग्दा भद्र र इमान्दार हुने उम्मेदवारले जितेपछि सात तलामाथिबाटै चिन्दिन भन्छन्’, काठमाडौंकी बुद्धिमाया श्रेष्ठले भनिन् । काठमाडौं महानगरपालिका-१६ स्थित नेपाल युवक माध्यमिक विद्यालयमा आफ्नो मताधिकार प्रयोग गर्न आएकी ७७ वर्षीया उनले मत माग्ने समयमा नागरिकलाई चिनेझै गर्ने उम्मेदवारलाई जितेपछि पनि त्यस्तै व्यवहार गर्न सुझाव दिइन् ।

जीत जसको भए पनि खासै समस्या छैन तर मत माग्ने बेलामा जसरी नागरिकलाई भगवान् झै गर्छन् त्यसैगरी विकासको काममा जनतामाथि घात नगर्नुस् भन्दै बुद्धिमायाले आक्रोश पनि व्यक्त गरिन् । यो उमेरसम्म आइपुग्दा धेरै पटक मतदान गरियो मतदान अघि नेताले जनतासामु गरेको वाचा पूरा गरेनन् उल्टो मतदातामाथि नै घात गर्ने काम हुँदै आएको उनको गुनासो थियो ।

जनप्रतिनिधिसँग त्यति धेरै माग पनि छैन, दुःखी जनतालाई खान र बस्नका लागि सामान्य व्यवस्था गर्न सक्नेलाई काम गर्ने वातावरण सिर्जना गरिदिए हुन्थ्यो भन्दै बुद्धिमायाले प्रतिनिधिमूलक पात्रका रुपमा नागरिकको अपेक्षा सुनाइन् । वडा नं १६ की अनिता दलीले पनि आफूले मतदान गरिसकेको बताउँदै इमान्दारपूर्वक मतदाताको मतको सदुपयोग गर्न उम्मेदवारलाई आग्रह गरिन् । ‘मत माग्ने बेलामा जस्तै व्यवहार जीतपछि पनि गर्नुस् र विकासमा केन्द्रित हुनुस्’, उनले भनिन् ।

वडा नं १७ स्थित पूजा शाहीको पनि खासै फरक माग छैन । जनप्रतिनिधिले काठमाडौँ सहरको फोहर दीर्घकालीनरुपमा समाधान गर्न र महिलाका लागि केही विशेष कार्यक्रम ल्याए हुन्थ्यो, जसले जीते पनि नगरवासीको फाइदाका लागि काम गर्नुस् उनले शुभकामना दिँदै भनिन् । यसअघि झैं हामीले पीडा खेप्न नपरोस् भन्दै कामपा वडा २८ का विश्वराज रेग्मीले मतदान केन्द्रमै भने, ‘नेताको व्यवहार निर्वाचनअघिकैझैं भए नगरको मुहार फेरिथ्यो ।’

मत माग्ने समयमा गरेका सबै वाचा नविर्सन र कुर्सी पाएपछि चुनावअघिका वाचालाई विकासको एजेण्डा बनाउने नेता चुन्नुपर्छ कामपा वडा नं २८ स्थित बागबजार पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेपछि उनले सो कुरा बताएका हुन् । विगतका निर्वाचनमा जस्तै यस वर्ष पनि निर्वाचनअघि र पछिको सङ्कल्पमा परिवर्तन नगर्न नगरवासीले खबरदारी गर्न थालेका छन् । स्थानीय तहको निर्वाचनका लागि कामपामा १५६ मतदानस्थल र ३६३ केन्द्र निर्धारण गरिएको छ । तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् ।

काठमाडौँमा शान्तिपूर्ण मतदान

स्थानीय तहका लागि आज बिहानदेखि सुरु भएको मतदान काठमाडौँमा शान्तिपूर्णरुपमा अगाडि बढिरहेको छ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नं १६ स्थित नेपाल युवक माध्यमिक विद्यालयमा आज बिहान ८ बजे मतदान गरिसकेकी छन् । अन्य मतदाता पनि मतदान गर्नका लागि लामबद्ध भएका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका केशव स्थापितले वडा नं २८ को बागबजारस्थित पद्मकन्या क्याम्पसमा रहेको मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरे । उक्त मतदान केन्द्रमा पनि शान्तिपूर्णरुपमा मतदान जारी छ ।

यी दुई केन्द्रका साथै अन्य मतदान केन्द्रमा पनि मतदाताले लामबद्ध भएर जनप्रतिनिधि छान्ने तयारीमा रहेका छन् । यसअघि नै मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका दिन आज पानी पर्ने पूर्व सङ्केत गरेकाले मतदाताले हातमा छाता बोकेर मतदान केन्द्रमा पुगेको देखिन्छ ।
आज पहिलो पटक स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न हुन लागेको छ । सरकारले गत माघ २४ गते आजका लागि निर्वाचन निर्वाचनको तयारी गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन कार्यक्रम यही वैशाख ११ गतेदेखि सुरु भएकामा यही वैशाख ११ र १२ गते मनोनयनको कार्यक्रम सञ्चालन गरिएको थियो । स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्णरुपमा सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७