मत गणना : ढोरपाटनमा झडप हुँदा दुई घाइते, संखुवासभा चिचिलामा मतगणना अवरुद्ध


३१ बैशाख २०७९, शनिबार
jhadap
सांकेतिक तस्विर

बागलुङ । स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा बागलुङको ढोरपाटन र संखुवासभाको चिचिला मतगणना केन्द्रमा विवाद भएको छ ।

बागलुङको ढोरपाटन नगरपालिकामा मतगणना स्थलमा राख्ने प्रतिनिधिको विषयमा विवाद हुँदा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते ढोरपाटन नगरपालिका-९ का भीमबहादुर विकलाई उपचारको लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

अर्का घाइते ढोरपाटन नगरपालिका-१ का ४० वर्षीय खिमबहादुर विकको बुर्तिवाङमा उपचार भइरहेको छ । घाइतेहरु नेकपा एमालेका कार्यकर्ता हुन् । निर्वाचन सम्पन्न भएपछि शुक्रबार राति १२ बजेपछि बसेको सर्वदलीय बैठकमा दलका प्रतिनिधि मात्र उपस्थित हुन आग्रह गरेको भए पनि दुवै पक्षका सयौंको संख्यामा नेता-कार्यकर्ता उपस्थित हुँदा झडपको अवस्था आएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधि ज्ञवालीले बताएका छन् ।

यता संखुवासभाको चिचिला गाउँपालिकामा मत गणना अवरुद्ध भएको छ । विवाद भएपछि केहीबेरअघि मत गणना रोकिएको हो ।

अहिलेसम्मको मत परिणाम अनुसार चिचिला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पासाङ नुर्वु शेर्पाले ५०९ मत ल्याएर अग्रता लिएका छन् । नेकपा माओवादी केन्द्रका रिपुप्रसाद राईले ४१३ मत र नेकपा एमालेका रामबहादुर गुरुङले २७५ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकी मनकला राई ४९८ मत ल्याएकी छन् । नेकपा माओवादीकी तीर्थमाया राईले ४३४ मत र नेकपा एमालेकी विष्णुकुमारी राईले २७३ मत पाएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७