म्याग्दीको रघुगंगामा कांग्रेस विजयी


२ जेष्ठ २०७९, सोमबार
1620478210 Nepali Congress flag 1200x560 1

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
सो पार्टीका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

भण्डारी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले तीन हजार २८९, नेकपा माओवादी केन्द्रकी मीना विकले ९९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले तीन हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले एक हजार ७८३ मत पाएका छन् ।

आठ वटा वडा रहेको रघुगङ्गाको पाँच वटा वडा कांग्रेस र तीन वडामा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । रघुगङ्गा-१ बेगमा कांग्रेसका बिलबहादुर फगामी, २ भगवतीमा एमालेका अमृत भण्डारी, ३ पिप्लेमा एमालेका खिमबहादुर शाही, ४ दग्नाममा कांग्रेसका पविन गर्बुजा, ५ झिँमा कांग्रेसका मनबहादुर शेरपुञ्जा, ६ पाखापानीमा कांग्रेसका मनकुमार शेरपुञ्जा, ७ चिमखोलामा एमालेका थकबहादुर पाइजा (रिम) र ८ कुइनेमङ्गलेमा कांग्रेसका गमान छन्त्याल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

१३ हजार ९४७ मतदाता रहेको रघुगङ्गामा ६५ प्रतिशत अथवा नौ हजार ११३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित हुने ४२ पदका लागि १३५ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । जिल्लाको छ वटामध्ये दुई वटा स्थानीय तह र ३० वटा वडाको मतगणना सकिएको छ ।

मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित भएकी छन् । मतपरिणाम सार्वजनिक भएका ३० वटा वडामध्ये एमालेले १३, कांग्रेसले १२ र माओवादीले चार वटा वडामा जित हासिल गरेका छन् । अब १५ वटा वडा र चार वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७