जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेलकी आमा चुनावमा पराजित


२ जेष्ठ २०७९, सोमबार
kirkauli sarkini dilbahadur ramtel HZE38uFAGH

गोरखा । नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध थालेपछि राज्य पक्षबाट मारिएर पहिलो शहीद घोषणा गरिएका दिलबहादुर रम्तेलकी आमा स्थानीय निर्वाचनमा पराजित भएकी छन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८ मा दलित महिला वडा सदस्यकी उम्मेदवार सरिमाया रम्तेल पराजित भएकी हुन् । उनलाई माओवादीको तर्फबाट महिला वडा सदस्यमा उठाइएको थियो । यो निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित माओवादीले २,४,५,६ र ७ वडा जितेको छ । उता कांग्रेसले भने १,३ र ८ नम्बर वडामा जित निकालेको हो । कांग्रेस, एमाले र माओवादीले करिब १४ घरधुरी रहेको सरिमायाको गाउँ सुलिकोट-८ जराङको दलित बस्तीबाटै दलित महिला वडा सदस्यमा उम्मेदवार उठाएका थिए ।

सरिमाया पराजित भएको वडा सदस्य पदमा कांग्रेसकी उम्मेदवार विजयी भएकी छन् । माओवादीले जनयुद्ध थालेपछि २०५२ फागुन १४ गते प्रहरीले चलाएको गोली लागेर दिलबहादुर रम्तेलको मृत्यु भएको थियो । उनी जराङस्थित ब्रह्मचारिणी निम्न माध्यमिक विद्यालयका विद्यार्थी थिए । ११ वर्षीय उनी त्यसबेला कक्षा ४ मा पढ्दै थिए । २०५२ फागुन १४ गते गोरखा ताकुकोट गाविसस्थित सूर्यज्योति माविका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई गिरफ्तार गर्ने क्रममा कक्षा कोठामै प्रहरी पसेका थिए ।

सूर्यज्योति माविका प्रधानाध्यापक गुरुङलाई गिरफ्तार गरेर प्रहरी टोली जराङतर्फ लागेको थियो । जराङस्थित ब्रह्मचारिणी निमाविका प्रधानाध्यापक गोविन्द देवकोटालाई पक्राउ गर्न खोज्दा जराङबासीले प्रतिरोध गरे । त्यसपछि प्रहरीले गोली चलाएको थियो । हतियारसहितका प्रहरीले देवकोटालाई पक्रन लागेको देखेर विद्यार्थी समेत प्रतिकारमा उत्रिएका थिए । त्यही क्रममा प्रहरीले गोली चलाउँदा रम्तेल मारिएका थिए । प्रहरीले त्यसबेला दिलबहादुर रम्तेल र रामप्रसाद भट्टमाथि गोली हानेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७