चितवन माडीको मेयरमा एमालेकी ताराकुमारी महतो निर्वाचित


३ जेष्ठ २०७९, मंगलवार
tara kumari kaji mahato

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्रको माडी नगरपालिकामा नेकपा एमालेले मेयर जितेको छ ।

एमाले-राप्रपा गठबन्धनकी उम्मेदवार रहेकी ताराकुमारी महतोले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २,१७२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् । महतोले ९,९०१ मत ल्याउँदा काफ्लेले ७,७२९ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । उनले ६,८३० मत ल्याएर जित्दा एमालेसँगको तालमेलमा उपमेयरका उम्मेदवार बनेका मदन पौडेलले ५ हजार ४० मत मात्रै ल्याए । स्वतन्त्र उम्मेवार बनेका कृष्ण पौडेलले उपमेयरमा ३ हजार ८६ मत ल्याए । उनी कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

एमालेबाट निर्वाचित बनेकी ताराकुमारी काजी महतो यसअघिको स्थानीय तहको निर्वाचमा उपमेयरमा निर्वाचित भएकी थिइन् । ९ वटा वडा रहेको माडीमा राप्रपाले वडा नं. १ र ८, माओवादीले २,४,५ र ९, समाजवादीले ३ र ७ तथा एमालेले वडा नं. ६ मा जित हात पारेको छ ।

राप्रपा र एमाले बीच मेयर/उपमेयरमा तालमेल भए पनि वडामा भने तालमेल हुन सकेको थिएन । माडीमा अघिल्लो पटक माओवादी केन्द्रका नेता ठाकुर ढकालले एकल उम्मेदवार बनेर मेयर जितेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७