अर्थमन्त्रीलाई योगेश भट्टराईको प्रश्न, ‘तपाई हिडेको बाटो मार्क्सवादको की फुकुयामाको ?’


४ जेष्ठ २०७९, बुधबार
yogesh bhattarai paryetan mantri.00 07 10 16.Still001

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मा र सरकार सिद्धान्तहिन हिडेको दाबी गरेका छन् । सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा कुनै सिद्धान्त र प्राथमिकता नभेटिएको उनको जिकिर छ ।

अर्थमन्त्री आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे बुधबारदेखि सुरु भएको छलफलमा एमालेको तर्फबाट टिप्पणी गर्दै उनले बजेटको सिद्धान्त र प्राथमिकतामा कुनै अग्रगति र ज्यान–प्राण नभएको बताए ।

‘दुनियाँमा दलहरुको आ–आफ्नो सिद्धान्त र दर्शनहरु छन् । त्यसको आधारमा राजनीतिक दलहरु गठन भएका हुन्छन्,’ उनले भने, ‘मान्य अर्थमन्त्रीजीले यो सिद्धान्तको प्रस्तुत गरीरहँदा मलाई सोध्न मन लागेको छ, यो कुन सिद्धान्त हो ? कस्तो सिद्धान्त हो ? यो सिद्धान्त मान्य अर्थमन्त्रजीको सिद्धान्त हो की सम्माननीय प्रधानमन्त्रीजीको ? यदि अर्थमन्त्री र प्रधानमन्त्रीको एउटै सिद्धान्त हो भने यहाँनिर एउटा प्रश्न गम्भिर उब्जिन्छ हुन्छ, ‘फरक राजनीतिक दल किन खडा हुन्छ ?’

उनले अर्थमन्त्री शर्मालाई माक्र्सवाद बाटो हिडेको या फ्रान्सिस फुकुयामाको बाटो हिडेको हो ? भनेर प्रश्न गरे । राजनीतिक अर्थशास्त्री फ्रान्सिस फुकुयामाको ‘द इन्ड अफ हिस्ट्री’को प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘फ्रान्सिस फुकुयामाले इतिहासको अन्त्य भनेर किताब लेखेका थिए । त्यसमा उनले सिद्धान्तको मृत्युको कुरा लेखे । हामी मार्क्सवादीहरुले आलोचना गर्दै आयौं । सिद्धान्त र इतिहासको मृत्यु भएको छैन भन्यौं । सिद्धान्त र इतिहासको पुन निर्माण हुदैजान्छ भन्यौं । यो विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता हेर्दा त्यही फुकुयामाको सिद्धान्तबाट निर्देशित भएर बनाउनु भयो की जस्तो लाग्छ । किनभने यहाँ कुनै सिद्धान्त र प्राथमिकता नै छैन ।’

समाजवाद उन्मुख अर्थतन्त्र बनाउने भनिएको भए पनि उनले सार्वजनिक सेवा, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा नराखी कसरी त्यो लक्ष्य भेटिन्छ भन्ने स्पष्ट नभएको उनले बताए । ‘अघिल्लो सरकारले ३९६ अस्पताल निर्माण गर्न बजेट छु्टयाएको थियो, अहिले सार्वजनिक शिक्षा र स्वास्थ्यको सबलीकरणको कार्यक्रम खै ?,’ उनले भने ।

‘सरकार जति समय बस्छ, समयको बर्बादीबाहेक केही हुने छैन’

वर्तमान सरकारको क्षमता र इच्छाशक्ति नै नभएको भन्दै उनले भने, ‘सरकार जति समय बस्छ, समयको बर्बादीबाहेक केही हुने छैन ।’ व्यापार घाटा डरलाग्दो भएको भन्दै यसको वैकल्पिक सिद्धान्त र प्राथमिकतामा नरहेको उनले बताए ।

अर्थतन्त्र बलियो बनाउने र विश्व अर्थतन्त्रसँग प्रतिस्पर्धी क्षमता राख्ने बनाउने कार्यक्रम नरहेको भन्दै उनले आलोचना गरे । वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो रहेको भन्दै सञ्चिति बनाउने र मुद्रास्फिति घटाउने विकल्प दिन नसकेको उनले बताए । यसले मुलुक असफल राष्ट्र हुन्छ की भन्ने चिन्ता बढेको भन्दै उनले भने, ‘पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण खाद्यान्न, औषधीसहितको मूल्य बढेको छ, यसको विकल्प खै ?’

बैंकमा तरलता नहुँदा लगानीयोग्य आयोजना अन्यौलमा परेको उनले बताए । उद्योग धन्दा र व्यापार  संकटमा परेको भन्दै उनले व्यापार व्यवसाय घट्दै रोजगारी सिर्जना नहुने र अर्थतन्त्र धरासायी हुने समेत भट्टराईको आरोप छ ।

हचुवाको भरमा दुई दिन बिदा दिइयो, यसले कुनै प्रतिफल दिँदैन

 भट्टराईले हचुवाको भरमा दुई दिन बिदा दिइएको बताए।

उनले भने, ‘सरकारले दुई दिन बिदाको कुरा गरेको छ । दुई दिनको विदा केका लागि ? दुई दिन बिदा केका लागि ? पेट्रोलियम पदार्थको खपत घटाउनका लागि हो भने त्यो प्रत्युत्पादक हुन्छ । ‘

उनले दुई दिन बिदा हुँदा राष्ट्रि श्रम शक्तिलाई अघाडि बढाउन नसक्ने बताए।  ‘ दुई दिन बिदाले कुनै प्रतिफल दिन सक्दैन । थप बिदा दिँदा राष्ट्रिय श्रम शक्तिलाई कसरी अघि बढाउन सक्छ ? देशको पर्यटन उद्योगलाई बढाउने उपाय नसोचेर हचुवाको भरमा बिदा दिइएको छ । ‘  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७