एयर एसियाले सरकारलाई ढाँट्यो, २६ करोड बक्यौता तिर्न आनाकानी


१३ चैत्र २०७४, मंगलवार
air asiya 1

काठमाडौं, १३ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दोस्रो पटक दिएको चेतावनीपछि पनि एयर एसिया प्रालिले २६ करोड रुपैयाँ बक्यौता तिरेको छैन । एयर एसियाले पहिलो पटक ताकेता गरेको म्याद सकिने दिन मलेसियाको मुख्य कार्यालयबाट पत्र पठाएर पुनः ७ दिनको समय मागेको थियो । एयर एसिया एक्सको मुख्य कार्यालयका सीईओको पत्रपछि पुनः ७ दिनको म्याद दिएको थियो । तर त्यो समयभित्र पनि नतिरी एयर एसियाले टीआइएलाई ढाँटेको छ ।

air asiya 1
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय (टीआइए) ले पहिलो पटक एयर एशिया प्रालिलाई सेवा शुल्क लगायतका शुल्क नतिरेपछि २०७४ फागुन २५ सम्मको समयसीमा तोकेको थियो । टीआइएले फागुन २५ भित्र बक्यौता नतिरे एयर एशियाका उडान बन्द गर्ने चेतावनी दिएको थियो । फागुन २५ भित्र बैंक ग्यारेन्टी पेश नगरे फागुन २७ बाट एयर एशियाका उडान नेपालमा बन्द गर्ने तयारी टीआइएले गरेको थियो । तर फागुन २५ मा एयर एशिया एक्सको मुख्य कार्यालय मलेसियाका सीईओले नै ७ दिनसम्म बक्यौता तिर्ने पत्र पठाएपछि टीआइएले उसलाई पुनः ७ दिनको समय दिएको हो ।

यो पनि पढ्नुहोस्ः
२६ करोड बुझाउन एयर एशियालाई ७ दिने अल्टिमेटम

एयर एशियाले मागेको समय चैत २ मै सकिएको छ । तर टीआइएलाई २६ करोड तिर्न अटेरी गर्दैआएको छ । एयर एशिया एक्सको मलेसियास्थित मुख्य कार्यालयका सीइओले ७ दिनभित्र तिर्ने लिखित प्रतिबद्धता पनि पूरा नगरेपछि टीआइए बक्यौता असुलीका लागि नयाँ रणनीतिमा लागेको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दोस्रो पटक दिएको ताकेतापछि अब एयर एसियाका उडान क्रमशः बन्द गर्दै जाने नीति अख्तियार गर्न लागेको छ । एकैपटक बन्द नगरी १ घन्टा, २ घन्टा बन्द गर्दै जाने नीति टीआइएले अख्तियार गर्न लागेको छ । एकैपटक बन्द गर्दा पर्यटन क्षेत्रमा असर पर्ने भएकाले क्रमशः बन्द गर्र्दै जाने नीतिमा टीआइए छ ।
एयर एसिया प्रालिले विगतका टीआइएका उच्च अधिकारीलाई घुस दिएर बक्यौता नतिरे पनि निर्वाध उडान गर्दैआएका थिए । तर कृष्णप्रसाद देवकोटा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव भएर आएपछि उनले बक्यौता असुलीका लागि कडा निर्देशन दिए । जसका कारण टीआइएका महाप्रबन्धक राजकुमार क्षेत्रीले एयर एसियालाई बक्यौत तिर्न ताकेता गरेका हुन् ।

hariman lama air asia 1
हरिमान लामा

मलेसियाबाट काठमाडौं र काठमाडौंबाट मलेसिया सिधा उडान गर्दै आएको उक्त कम्पनीले अवतरण शुल्क, पार्किङ शुल्क, विमानस्थल विकास शुल्क, कोठा भाडालगायतको करिब ३ वर्षयताको बक्यौता २६ करोड रुपैयाँ टीआइएलाई तिर्न बाँकी रहेको छ । एयर एशियाबाहेक अरु केही एयरलाइन्सलाई बक्यौता तिर्न बाँकी छ । टीआइएले एयरलाइन्सहरुसँग २८ करोड बक्यौता असुली गर्न बाँकी रहेको छ । त्यसमा सबैभन्दा धेरै एयर एशियाकै रहेको टीआइएका अधिकारीले बताएका छन् ।

एयर एसिया प्रालिको नेपालस्थित जीएसएका सञ्चालक हरिमान लामा कालोसूचीमा परेका छन् । लामाको समूहद्वारा सञ्चालित इन्सेन्टिभ ट्राभल्स एन्ड टूरले एयर एसियाको जीएसए लिएर नेपालमा वायु सेवा सम्बन्धी काम गर्दै आएको छ । समूहका अध्यक्ष लामासहित गणेशमान लामा, सावित्री श्रेष्ठ र मञ्जु तामाङ लामा समेत कालोसूचीमा परेका छन् । उनीहरुलाई सूचना केन्द्रले गत मंसिर ३ गते कालोसूचीमा राखेको हो । कर्जा सूचना केन्द्रको सि.नं.५६८७ र कालोसूची नम्बर १०१०५ मा उनीहरुलाई कालोसूचीमा राखिएको छ ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७